जनार्दन शर्माले राजीनामा दिएपछि अब अर्थमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ । अर्थमन्त्रालय नेकपा (माओवादी केन्द्र) को भागमा परेकाले अहिले उक्त दलबाट नारायणकाजी श्रेष्ठ वा वर्षमान पुन मध्ये कुनै एक अर्थमन्त्री हुने चर्चा परिचर्चा सुरु भएको छ ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ । आजको बैठकमा गत आइतवार पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरुले उठाएका प्रश्नको जवाफ अध्यक्षले दिँदै छन् ।

त्यसैगरी, आजको बैठकमा पदाधिकारी सहित स्थायी कमिटीको टुंगो लगाने तयारी भइरहेको छ । बैंठकमा वर्षमान पुनलाई महासचिवको जिम्मेवारी दिएर नारायणकाजी श्रेष्ठलाई अर्थमन्त्री बनाउने तयारी पनि भइरहेको छ । यदि वर्षमान पुनले महासचिव भन्दा अर्थमन्त्रीको चाहना गरे भने उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिने तयारी पनि भइरहेको छ ।

अहिलेसम्म ती दुई मध्ये एकजनालाई अर्थमन्त्री बनाउने गरी अनौपचारिक रुपमा छलफल अघि बढेको नेकपा (माओवादी केन्द्र)का एक उच्च नेताले बताए । गत जेठ १४ गते बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई छिराएको अभियोग लाग्दै आएका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थमन्त्रीको खोजी हुन थालेको छ ।

५ दलिय गठबन्धन सरकारले अर्थ मन्त्रालयको भाग नेकपा माओवादी केन्द्रमा परेकाले अबको अर्थमन्त्री पनि केन्द्रकै हुने र त्यसमा पनि नारायणकाजी वा पुन मध्ये एक हुने पक्कापक्की भएको छ ।

“केन्द्रमा अर्थतन्त्र बुझेको व्यक्ति नारायणकाजी र पुन मात्रै भएकाले उनीहरुको सम्भावना बढी देखिएको छ,” ती नेताले भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले अर्थमन्त्री कसलाई बनाउँदा ठिक होला भनेर आफू निकट नेताहरुसँग छलफललाई तिब्र पारेका छन् ।

यता, नारायणकाजी पक्षधरले उनलाई नै अर्थमन्त्री बनाउनु पर्ने र पुन पक्षधरले उनलाई अर्थमन्त्रालयको जिम्मेवार दिनु पर्ने माओवादी केन्द्र भित्रबाटै लबिङ सुरु भएको छ ।

शर्माले आफ्नो अनधिकृत प्रतिनिधिलाई गत जेठ १४ गते मध्यराती अर्थमन्त्रालयमा खटाई विद्युतिय गाडीका कर, स्वास्थ्य विमाको विषय, फलाम र फलामजन्य वस्तुहरुको कर, सेनिटरी प्याडको कर लगायको विषयमा करको दर हेरफेर गराएको सञ्चारमाध्यममा समाचार आएपछि उनको सर्वत्र आलोचना हुँदै आएको थियो । उनले त्यस्तो आलोचना खेप्न नसकेपछि बुधबार अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

Share.

Comments are closed.