अभियान लघुवित्त वित्तीय संस्थाले आज बुधबारबाट सर्वसाधारणको लागि आईपिओ निष्काशनमा ल्याएको हो । लघुवित्तले जारी पूँजी २ करोड ७ लाख रुपैयाँको ३९ प्रतिशतले हुन आउने ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ९ लाख १३ हजार ७५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी २५ करोड रुपैयाँ र चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ ।

सर्वसाधारणलाई ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्काशन पश्चात संस्थापकको ६१ प्रतिशत र सर्वसाधारणको ३९ प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

मध्यम जोखिम रहेको कम्पनी

लघुवित्तको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपाल लिमिटेडले ‘इक्रानपी आईआर डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

लघुवित्तले रेटिङ्ग एजेन्सी इक्रा नेपालले २०७८ मंसिर १७ गते रेटिङ्ग प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि एक वर्ष अर्थात २०७९ मंसिर १६ गतेसम्म कायम रहनेछ ।

संस्था परिचय

अभियान लघुवित्त नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ बमोजिम २०७५ चैत २४ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार मिति २०७६ असोज १ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृत प्राप्त गरी राष्ट्रिय स्तर कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्थाको हैसियतले २०७६ मंसिर १ गते देखि लघुवित्त कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

यस वित्तीय संस्थाका संस्थापकहरुमा मेगा बैंक, कुमारी बैंक लगायत सरकारी, गैर सरकारी, शैक्षिक क्षेत्र, कृषि, उद्योग तथा ब्यापार क्षेत्र एवं व्यवस्थापन क्षेत्रमा लामो समय देखि दखल भएका प्रतिष्ठित व्यक्तिहरु रहेका छन् ।

यस वित्तीय संस्थाको कारोवार गर्ने स्थान नेपाल राज्यभर रहेको छ । २०७८ चैत मसान्तसम्म यस लघुवित्त वित्तीय संस्थाले २१ जिल्लाहरुमा ६० वटा शाखा कार्यालयहरु स्थापना गरी लघुवित्त कारोबार गर्दै आइरहेको छ । लघुवित्तले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृत लिई शाखा, उपशाखा वा अन्य कार्यालय खोलि वित्तीय कारोबार गर्न समेत सक्नेछ ।

यस वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय पनौती नगरपालिका वडा नं. ०४, काभ्रेपलान्चोकमा रहेको छ ।

यस लघुवित्त वित्तीय संस्थाको निक्षेपकर्ताको हक हितको संरक्षण र सम्वद्र्धन गर्दै स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दाे वित्तीय मध्यस्थता सेवा उपलव्ध गराउने उदेश्य राखेको छ ।

कृषि, उद्योग, सेवा, ब्यापार तथा अन्य ब्यवसायिक रूपले सम्भाब्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, बिस्तार र क्षमता एवम् उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन आन्तरिक तथा बाह्य स्रोतबाट जुटाई देशको औद्योगिक, ब्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पुर्याउने उदेश्य राखेको छ ।

उपलब्ध सीप, श्रम तथा पूँजीलाई उचित रुपमा परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा उत्पादन एवम् रोजगारीमूलक ब्यवसायको स्थापना, सञ्चालन, विकास, विस्तार एवम् प्रवद्र्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा ब्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरिबी निवारणका लागि सक्रिय रूपमा संलग्न भई सहयोग पुर्याउने उदेश्य राखेको लघुवित्तले जनाएको छ ।

वित्तीय सेवामा जोखिम कम गर्दै वित्तीय क्षेत्रको उदारीकरणमा मद्दत पुर्याई देशको अर्थतन्त्रलाई सबल तथा सुदृढ बनाउन सहयोग पुर्याउने र देशको समग्र वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वासनीयता अभिवृद्धि गर्न सहयोग पुर्याउने लघुवित्तको उदेश्य रहेको छ ।

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा १३ करोड ४६ लाख ६१ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक २०७८/७९ मा पनि लघुवित्तले २ करोड ६५ लाख रुपैयाँ सञ्चित मुनाफा आर्जन अनुमान गरेको छ ।

Share.

Comments are closed.