प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो उपभोगसँगै मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा कम गर्ने कार्यमा दत्तचित्त भएर लाग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ । 

विदेशी मुद्राको घट्दो सञ्चिति, सुस्त बन्दै गइरहेको उत्पादनमूलक क्षेत्र, घट्दो कृषि उत्पादन र उत्पादकत्व, बढ्दो बेरोजगारी आदिका कारण मुलुकको अर्थतन्त्रलाई थप बिग्रन नदिन बुद्धिमत्तापूर्ण ढङ्गले वित्त तथा मौद्रिक नीतिलाई कार्यान्वयन गर्नुपर्ने खाँचो प्रधानमन्त्री देउवाले औँल्याउनुभयो । 

अहिले अर्थतन्त्रमा आन्तरिक तथा बाह्य दुबै चाप परेको स्थिति रहेको भन्दै प्रधानमन्त्रीले यसका लागि सरकार र निजी क्षेत्र दुबैले एक आपसमा संवाद र सहकार्य गरेर चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । 

कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारशिला भएकाले कृषि क्षेत्रको व्यवसायीकरण र यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत् आर्थिक वृद्धिको जग बलियो बनाउन र मुलुकको गरिबी र आर्थिक असमानता हटाउन प्रधानमन्त्री देउवाले निजी क्षेत्रको ध्यानाकर्षण गराउनुभयो । 

विदेशी कच्चा पदार्थमा आधारित कम मूल्य अभिवृद्धि हुने प्रशोधन उद्योगभन्दा मुलुककै कृषि, वन तथा खानी क्षेत्रका कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरी स्वदेशमै आय र रोजगारी प्रवद्र्धन हुने गरी आफ्ना आर्थिक क्रियाकलापहरूलाई अघि बढाउन आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ । 

विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलाप जस्तै प्रत्यक्ष वैदेशिक लगानी बढाउने तथा पर्यटन व्यवसायको प्रवर्द्धन गर्ने, निकासीजन्य उद्योगको विस्तार गर्ने, निर्यात वृद्धिमार्फत् व्यापार घाटा कम गर्ने, उपभोगजन्य र विलासिताका वस्तु तथा सेवाको आयात र उपभोगलाई निरुत्साहित गर्ने काममा लाग्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । 

प्रधानमन्त्री देउवाले विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमबाट आउन प्रोत्साहित गर्नेलगायतका विभिन्न कार्यहरूमा सरकारले निजी क्षेत्रको सक्रिय सहयोगको अपेक्षा गरेको भन्नुभयो । 

उद्योग व्यवसायमा बिजुलीको उपयोग बढाई पेट्रोलियम पदार्थको आयात र उपभोगलाई घटाउन पनि उहाँले निजी क्षेत्रलाई आग्रह गर्नुभयो । 

तात्कालिक लाभ लिने क्षेत्रमा भन्दा पनि दीर्घकालसम्म मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने, मुलुकभित्रका श्रम, सीप र कच्चा पदार्थको अधिकतम परिचालन गरी निकासी बढाउनेतर्फ ध्यान केन्द्रीत गर्न प्रधानमन्त्रीले अनुरोध गर्नुभयो । 

 मुलुकको अर्थतन्त्रको जग बलियो बनाउने एवं बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने र सरकारलाई मुलुकको विकासका लागि आवश्यक स्रोत परिचालन गर्न सहयोग पु¥याउने क्षेत्रमा लगानी विस्तार गर्न आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ । 

मुलुकको अर्थतन्त्रलाई थप बिग्रन नदिन र ट्रयाकमा ल्याउन सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको प्रधानमन्त्रीले दृढता व्यक्त गर्नुभयो । निजी क्षेत्रलाई उद्यम व्यवसाय गर्न आवश्यक नीतिगत व्यवस्था र पूर्वाधार सुविधाहरू उपलब्ध गराउन सरकार सदैव प्रतिबद्ध रहेको उहाँको भनाइ छ । 

Share.

Comments are closed.