आर्थिक वर्ष समाप्ति तिर जाँदा बैंकहरुको निक्षेपमा उच्च वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको अन्तिम महिना अर्थात असारको २४ गतेसम्म वाणिज्य बैंकको निक्षेपमा ९४ अर्ब रुपैयाँले वृद्धि देखिएको हो । असार महिनामा मात्रै वाणिज्य बैंकको ऋण १९ अर्बले घटेको छ ।

राष्ट्र बैंकले चालु आवको असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशतको दायरामा ल्याउन निर्देशन दिए सँगै बैंकहरुले कर्जा असुलीलाई तिव्रता दिएको थियो । नेपाल बैकर्स एसोसिएसनका अनुसार वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.५७ प्रतिशत रहेको छ । असार मसान्तमा बजेट खर्च गर्ने प्रवृत्तिसँगै सरकारको पुँजीगत खर्चमा समेत वृद्धि हुँदा बैंकहरुमा निक्षेपमा वृद्धि देखिएको हो । राष्ट्र बैंकले असार २६ गतेसम्मको समग्र वित्तीय प्रणालीको सीडी रेसियो भने ८७.१४ प्रतिशतमा झरेको देखिएको छ ।

नेपाल बैकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार जेठ मसान्तसम्म वाणिज्य बैंकहरुमा ४४ सय अर्ब निक्षेप रहेकोमा असार २४ गतेसम्म आइपुग्दा निक्षेप बढेर ४४ सय ९४ अर्ब रुपैयाँ पुगेको हो । त्यसैगरी चालु आवको जेठ मसान्तको समग्र वाणिज्य बैंकको ऋण ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा असार २४ गतेसम्ममा १९ अर्बले घटेर ४१ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल बैकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार असार महिनाको पहिलो हप्ता निक्षेप ७ अर्बले र ऋण ५ अर्बले घटेको थियो भने दोस्रो हप्ता ४ अर्बले निक्षेप बढयो तर ऋण ६ अर्बले घट्यो । असारको तेस्रो र चौथो हप्ता भने वाणिज्य बैंकहरुमा निक्षेप ह्वात्तै बढेको देखिएको छ । तेस्रो हप्ता वाणिज्य बैंकमा ३४ अर्बले र चौथो हप्ता ६२ अर्बले निक्षेप बढेको देखिएको छ । तथ्यांक अनुसार तेस्रो हप्ता वाणिज्य बैकहरुमा २ अर्बले ऋण बढेको छ भने चौथो हप्ता १० अर्बले ऋण घटेको देखिएको छ ।

Share.

Comments are closed.