श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । केही महिनादेखि गहिरो आर्थिक संकटमा फसिरहेको श्रीलंकामा पछिल्लो समय थप संकटको स्थितिमा पुगेको हो । श्रीलंकाको यो संकट इतिहासमै ७३ वर्षपछिको सबैभन्दा ठूलो हो । यतिबेला सर्वसाधारण नागरिकको जीवन दिन–प्रतिदिन कष्टकर बन्दै गएको छ । संकटबाट मुलुक चाँडै बाहिर निस्कने भरोसालाग्दो आधार हालसम्म देखिएको छैन ।

पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि, घट्दो विप्रेषण र रूस–युक्रेन युद्धजस्ता कारणले बाह्य क्षेत्रलाई संकटोन्मुख बनाए पनि मूल रूपमा सस्तो लोकप्रियताका लागि लिइएका राजनीतिक निर्णयहरू, गलत आर्थिक नीतिजस्ता घरेलु कारणहरूले नै यस मुलुक संकटको भुमरीमा फसेको हो ।

देशमा चरम आर्थिक संकटसँगै श्रीलंकाका बैंकवित्त पनि यतिबेला धरासायी बन्दै गएको छ । श्रीलंका केन्द्रीय बैंकले आईएमएफसँग सहकार्य गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको छलफलमा भाग लिन अर्थमन्त्री अली साब्री, केन्द्रीय बैंकका गभर्नर डा.नन्दलाल विरासिङ्घे र अर्थ मन्त्रालयका सचिव महिन्दा सिरीवद्र्धनेसहितको प्रतिनिधिमण्डल अमेरिका गएको छ । उनीहरुले अमेरिकाको वासिङ्टन डिसीस्थित आईएमएफको मुख्यालयमा छलफल गर्नेछन् । वार्ता यही वैशाख ५ देखि ११ गतेसम्म ६ दिनसम्म हुने बताइएको छ । आईएमएफको वार्ता सफल भएमा श्रीलंकाले करिब ४ अर्ब अमेरिकी डलर प्राप्त गर्नेछ ।

Share.

Comments are closed.