चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरुले कुल ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो महिना अर्थात् माघमा बैंकहरुको नाफा ४० अर्ब २४ करोड रुपैयाँ थियो । एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको खुद नाफामा १६.४४ प्रतिशतले बढेको देखिएको छ । तीन वाणिज्य बैंकको खुद नाफा ३ अर्ब रुपैयाँ अधिक रहेको छ भने बाँकि १० वाणिज्य बैंकले औसतभन्दा धेरै नाफा कमाएका छन् ।

चालु आर्थिक वर्षको फागुन महिनासम्म आइपुग्दा सर्वाधिक नाफा कमाउन सफल ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले तीन अर्ब ४६ करोड खुद नाफा गरेको छ । माघको तुलनामा बैंकको नाफा १४.२५ प्रतिशत बढेको छ । माघ अन्त्यसम्ममा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

फागुनसम्म आइपुदा दोस्रो सर्वाधिक नाफा कमाउने वाणिज्य बैंक एनआइसी एसिया बैंक भएको छ । उक्त बैंक ३ अर्ब अधिक नाफा गर्न सफल छ । बैंकले ३ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नाफा माघको तुलनामा १५.२५ प्रतिशत बढेको छ । तीन अर्ब अधिक खुद नाफा कमाउन सफल नबिल बैंक पनि हो। बैंकले फागुन अन्त्यसम्ममा ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । माघ महिनाको तुलनामा बैंकको नाफा १६ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि २ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ । यस्तै, प्राइम कमर्सियल बैंकले २ अर्ब ५६ करोड रुपैयाँ, एनएमबि बैंकले २ अर्ब २२ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब १५ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब ४ करोड रुपैयाँ र नेपाल बैंक लिमिटेडले २ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्।फागुन महिनासम्म आइपुदा दुई अर्ब अधिक खुद नाफा रहेका यी वाणिज्य बैंक हुन् । त्यसैगरी सरकारी स्वामित्वको कृषि विकास बैंकले पनि फागुनसम्ममा एक अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

उल्लेखित वाणिज्य बैंकहरुको खुद नाफा औसतभन्दा मथि छ।यस अवधिमा सबैभन्दा कम खुद नाफा आर्जन गर्ने वाणिज्य बैंक सिभिल बैंक छ ।यसले चालु आर्थिक वर्षको आठ महिने अवधिमा ७३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा माघको तुलनामा भने झन्डै १२ प्रतिशत बढेको छ । माघ अन्त्यसम्म बैंकले ६१ करोड खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, सेञ्चुरी कमर्सियल बैंकको खुद नाफा पनि यस अवधिमा ९२ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको आठ महिनाको अवधिसम्ममा एक अर्ब रुपैयाँभन्दा कम खुद नाफा आर्जन गर्ने सिभिल र सेञ्चुरी बैंक रहेका छन् ।

Share.

Comments are closed.