आदिकवि भानुभक्त आचार्यलाई आयुर्वेदको पनि विज्ञ मानिन्छ । उहाँका कवितामा हामीले घाउ, खटिरा, दाद आदिको औषधि बनाउने विधि पनि भेट्न सक्छौँ । यो विधिबाट बनेको औषधिले जुकालगायत विषालु किराले टोकेको पनि उपचार हुने बताइएको छ। आदिकविका ती हरफहरु यस प्रकार छन्:

पाँच तोला घिउ गाइको र खसिको बोसो समानै लिनू
चिउरीको घिउ सोहि भाग करुवा तेल भाग सोही दिनू
सोइ भाग कागति–रस मइन सब समान तुथो र गन्धक अनी
फुस्रो सिन्दुर गेरु औषध इ चार पाँच पाँच मासा पनी।।१

चार चीज ती पछिका पिनेर मइदा पारेर सिन्दूरसरी
आदीका सब चिज पगालि हुँडली त्यो चूर्ण ताहीँ छरी
लाऊ दाद–दिनाइ गैह्र खटिरा जूका र डाँस–मोस्हरू
जोजो छन् विषजातिको विष लिन्या छैनन् उपायी अरु।।२

एक जानकार वैद्यले जस्तो गरी एक-एक प्रक्रिया खुलाएर औषधि बनाउन सिकाईएको यी हरफहरु निकै नै आश्चर्यजनक छन् । त्यो बेला प्रयोग गरिने यी विधिहरु आजकल हराउँदै गएका छन् । एक पटक आदिकविले दिएको विधि अपनाएर हामीले पनि हेर्ने कि ! यसले पक्कै पनि घाउ, खटिरा, दाद आदि ठीक गर्न सहयोग गर्ने देखिन्छ ।

Share.

Comments are closed.