कोरोना महामारीको असर कम भएसँगै अहिले काठमाडौँको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ तर आन्तरिक उडान तोकिएको समयमा हुने गरेका छैनन् । पाँच घण्टासम्म ढिलो उडान हुने र रद्द हुने क्रम बढेपछि यात्रुले सास्ती बेहोर्नुपरेको हो । पछिल्लो एक सातामा मात्रै ९० वटा उडान रद्द भएका छन् ।

प्रतिघण्टा चार सय यात्रु थेग्नसक्ने क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन उडान ढिलो र रद्द हुँदा साँघुरो बन्दै गएको छ ।

पछिल्लो उदाहरणका रूपमा मङ्गलबार अपराह्न धनगढीबाट काठमाडौँ आएको श्री एयरलाइन्स र बुधबार काठमाडौँबाट भैरहवाका लागि तय भएको बुद्व एयरको उडानलाई लिन सकिन्छ । मङ्गलबार धनगढीबाट काठमाडौँ आउने बेलुका ६ः३० बजेको श्री एयरलाइन्स ५ः३० मै आएको थियो भने बुधबार बेलुका ७ः१० बजे भैरहवाका लागि उडान तय गरेको बुद्व एयरको जहाजले राति १० बजेसम्म उडान गर्न नसकेपछि रद्द गरेको थियो । पछिल्लो समय मौसम र ‘भिजिबिलिटी’ (दृश्य क्षेत्र)का कारण उडान रद्द भएको जानकारी दिएपछि यात्रु बिचल्लीमा पर्ने क्रम बढेको हो ।

उडान रद्द भएपछि अन्तर्राष्ट्रिय उडानमा विमान कम्पनीले विमानस्थल पुगेका यात्रुलाई आफ्नै खर्चमा होटलमा राख्ने गरेको भए पनि आन्तरिकतर्फका हवाई कम्पनीले भने त्यस्ता यात्रुका लागि गाडीको समेत बन्दोबस्त नगर्दा सास्ती भोग्दै आएका छन् ।

यो साता मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका ९० वटा उडान रद्द भएका छन् । विमानस्थल कार्यालयका अनुसार वैशाख १ गतेयता बुद्वको २७, यतीको आठ, ताराको २५, सीताको १०, समिटको ११, नेपाल एयरलाइन्सको तीन र गुण एयरको एउटा उडान रद्द भएका छन् ।

यसरी समयमा उडान नगर्ने वा रद्द गर्ने कुनै पनि विमान कम्पनीले यात्रुको व्यवस्थापनमा ध्यान दिएको देखिँदैन । त्यसरी हवाई यात्रु अलपत्र परेपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसमेत मूकदर्शक बनेको सर्वसाधारणको दुःखेसो छ ।

Share.

Comments are closed.