अभिनेत्रीद्वय प्रियंका कार्की र दीपिका प्रसाईंको मुख्य भूमिका रहेको फिल्म ‘हेल्लो जिन्दगी’ शुक्रबार रिलिज हुनेछ । तर यी दुवै अभिनेत्री फिल्मको प्रचारप्रसारमा भने सहभागी भएको देखिंदैन।

निर्माण पक्षले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि दुवै अभिनेत्री उपस्थित थिएनन् । तर फिल्ममा नरहेका कलाकारद्वय सन्दीप क्षेत्री र रविन्द्र झा भने उपस्थित थिए ।

सन्दीप र रविन्द्रले ‘हेल्लो जिन्दगी’ हेर्न दर्शकलाई आग्रह गरे । निर्देशक एभरेस्ट सूर्य बोहराको अघिल्लो फिल्म ‘श्री’मा सहकार्य गरेका सन्दीप प्रमोसनमा साथ नदिने कलाकारप्रति केही आक्रामक देखिए ।

उनले भने, “आफूले खेलेको फिल्मलाई लिएर कोही उत्साही छैन भने त्यो कलाकार होइन ।” उनले कलाकारभन्दा फिल्म स्वादिलो बन्नु महत्वपूर्ण कुरा भएको बताए ।

निर्देशक बोहराले फिल्मको प्रचारप्रसारमा दुवैजना नायिका नहिंडेको कुरालाई लिएर आफूले हैरानी खेपेको बताए । “मलाई बिहानैदेखि सबैजनाले यही प्रश्न सोध्नुभएको छ । हामीले उहाँहरुले मागेजति पैसा पनि दिएका छौं । उहाँँहरुको रोल पनि अधुरो छैन,” उनले भने ।

पैसाकै कारण आफूहरुबीच दरार नआएको उनले दाबी गरे । “हामीले थुप्रै उतारचढावको बीचबाट पनि राम्रो फिल्म ल्याउँदैछौं,” निर्देशक बोहराले भने, “कलाकारले फिल्ममा अभिनय गरेकै हुनुपर्ने रहेनछ, फिल्ममा नभए पनि हामीसँग फिल्मलाई माया गर्ने कलाकार पनि छन् । व्यक्तिभन्दा पनि उद्योग महत्त्वपूर्ण हो ।”

अभिनेता विक्रम जोशीले दक्षिण भारतीय तथा अन्य विदेशी फिल्मले चौतर्फी घेरिरहेको अवस्थामा फिल्म रिलिज गर्न लागिरहेको बताए । फिल्मको कथावस्तु विदेशमा घटेको एक यथार्थ घटनामा आधारित रहेको उनले बताए ।

Share.

Comments are closed.