आयुर्वेद समग्र र स्वस्थ जीवनशैली समेटेर बनाईएको ग्रन्थ हो। यसमा मानिसको स्वास्थ्यलाई कसरी उन्नत बनाई आयु बढाउन सकिन्छ भन्ने विषयमा चर्चा गरिएको छ । यसैगरी, आयुर्वेदमा खाना के खाने, कसरी खाने, कतिबेला खाने, खाना अघि र पछिका नियमहरु पनि वर्णन गरिएको छ जसले मानिसलाई स्वस्थ हुन मद्दत गर्छन् । आउनुहोस्, आज हामी ती नियमबारे चर्चा गरौँ:

के खाने र कतिबेला खाने?

सूर्यको तेजअनुसार खाना खाने समय निर्धारण गर्नुपर्ने आयुर्वेदमा उल्लेख छ। सूर्य दिउँसो १२ देखि २ बजेसम्म तेजिलो हुन्छ । यतिबवेला भोजन पचाउने शरीरको क्षमता बलियो भएको हुन्छ। यो वेला आडिलो खालको भोजन गर्नुपर्छ । बेलुका र बिहान सूर्य नहुने भएकाले हल्का भोजन गर्नुपर्छ। रातको खाना सकेसम्म आठ बजे अगाडि नै खानुपर्ने बताइन्छ। बेलुकाको खाना कि सुर्यास्त नहुँदै या तारा देखिए पछि खानुपर्छ भन्ने नियम पनि छ ।

कसरी खाने?

शान्त मुद्रामा पलेटी कसेर स्वाद लिँदै खाएको खाना राम्रोसँग पाचन हुन्छ। यसमा हुने तत्त्व शरीरले सजिलै हासिल गर्छ। शान्त बसेर पलेटी कसी खाना खाँदा खानाको स्वाद, सुगन्ध आदिको महसुस राम्रोसँग हुन्छ र यसले पाचनमा सहयोग गर्छ।

कामको व्यस्तताले गर्दा काम गर्दै खाना खाने पनि धेरै हुन्छन्। उभिएर खानु हुँदैन । राम्ररी बसेर खानुपर्छ।

खाना अघि र खाना खाँदा पालन गर्नुपर्ने नियम

पाचनशक्ति कमजोर भएका मानिसको पेटमा अग्नि तत्त्व कमजोर हुन्छ। पेटको अग्नि तत्त्वले खाना पचाउन मद्दत गर्छ। यस्ता मानिसले खानाअघि अदुवाको टुक्रामा कागती र नुन छर्केर खानुपर्छ। यसले र्याल उत्पादन गर्ने ग्रन्थीलाई सक्रिय पार्छ र खाना पचाउन र खानामा पाइने तत्त्व ग्रहण गर्न शरीरलाई मद्दत पुग्छ।

आयुर्वेदले खानासँग कुनै पनि प्रकारको चिसो पेय खान वर्जित गरेको छ। खानाको प्रकृति तातो हुन्छ। यस्तो खाना र चिसो पेय एकसाथ खाँदा पेटले राम्रोसँग काम गर्न पाउँदैन। अपच हुने, पेट दुख्ने आदि समस्या हुन्छ। अन्य बेला पनि चिसो अथवा तातो पानीको सट्टा कोठाको तापक्रमसँग मिल्ने खालको पेय खानुपर्छ।

खानापछि पालन गर्नुपर्ने नियम

गर्मी मौसममा खानापछि दही खाने गर्नाले खाना राम्रोसँग पाचन हुन्छ। घरमै बनाएको दहीमा पानी हाली पातलो बनाएर खाने गर्नुपर्छ। गर्मीमा बाक्लो दही खानु हुँदैन। पातलो दहीले बढी फाइदा गर्छ। दहीमा पाइने ब्याक्टेरिया र चिल्लो पदार्थका कारण खाना राम्रोसँग पच्छ। दुध सकेसम्म साँझको खानापछि खाने गर्नुपर्छ ।खानापछि त्रिफलाको चूर्ण खानाले पाचन प्रणाली शुद्ध र बलियो हुन्छ।

Share.

Leave A Reply