आर्थिक वर्ष २०७८/७९ मा सेयर बजारमा ठूलो उतारचढाव देखिएको छ। राष्ट्र बैंकको नीतिहरुको कारण बिक्री चाप बढेको बजारमा तरलता अभावले गर्दा पनि झनै धेरै दबाब सिर्जना भयो।

यसले गर्दा सेयर बजारमा यस वर्ष ३० प्रतिशतभन्दा धेरैले गिरावट देखिएको छ। तथ्यांक हेर्दा चालु आर्थिक वर्षमा नेप्से सूचक ८७३.३८ अंकले घटेको छ। गत आर्थिक वर्षको अन्त्यमा २८८३.३८ विन्दुमा रहेको नेप्से सूचक घटेर शुक्रबारसम्ममा २००९.४७ विन्दुमा झरेको छ।

चालु आर्थिक वर्षमा नै नेप्से सूचक हालसम्मकै उच्च विन्दु ३१९८ विन्दुसम्म पुगेको थियो। सो दिन बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँभन्दा धेरै पुगेको थियो। आर्थिक वर्षको पहिलो महिना सकारात्मक नै देखिएको सेयर बजार दोस्रो महिनादेखि भने घट्दो क्रममा देखिन थाल्यो। केहि साता अघि मात्रै नेप्से १८०६ विन्दुसम्म झरेको थियो।

भदौ २ गते उच्च विन्दुमा पुगेको नेप्से सूचक सो पश्चात लगातार घट्दो क्रममा देखियो। नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा ४-१२ करोडको सिमा तोकिदिएसँगै त्यसले बजारमा बिक्री चाप बढायो भने त्यसको नकारात्मक प्रभाव बजारमा परेको देखिन्छ।

अर्कोतर्फ तरलता अभाको कारण पनि बैंकहरुको ब्याजदर विस्तारै बढ्दै गयो। गत एक वर्षमा बैंकहरुको ब्याजदर करिब दोब्बर भएको छ। ब्याजदर बढ्दा पनि त्यसले सेयर बजारमा नकारात्मक असर गरेको छ। यसबीच नियामक निकायहरुबाट पनि बजार सुधारको लागि कुनै प्रयास देखिएन। यसले गर्दा पनि बजारले टेवा लिन सकेन।

यसरी नेप्से सूचक घट्दै जाँदा लगानीकर्ताको सम्पति पनि क्षयीकरण भएको छ। गत आर्थिक वर्षको अन्त्यमा ४० खर्ब ११ अर्ब पुगेको बजार पूँजीकरण अहिले २८ खर्ब ६९ अर्ब रुपैयाँमा झरेको छ। यसको मतलब गत आर्थिक वर्षमा लगानीकर्ताको सम्पत्ति ११ खर्ब ४२ अर्ब रुपैयाँले झरेका छ। यो भनेको २८.४६ प्रतिशतको गिरावट हो।

लगानीकर्ताको सम्पत्ति मात्रै घटेन बजारमा हुने कारोबार समेत घट्दै जाँदा ब्रोकर कम्पनीको कमिसन र सरकारको राजस्वमा समेत असर परेको छ।

चालु आर्थिक वर्षमा कारोबार रकम १७ प्रतिशतभन्दा धेरैले घटेको छ। गत आर्थिक वर्षमा १४ खर्ब ५४ अर्ब रुपैयाँको शेयर कारोबार भएको बजारमा चालु आर्थिक वर्षमा १२ खर्ब २ अर्ब रुपैयाँको कारोबार भएको छ। यो भनेको २ खर्ब ५२ अर्ब रुपैयाँले कम हो। यस्तै कारोबारमा आएको सेयरको सँख्या र कारोबार सँख्या पनि घटेको छ। यस अवधिमा कारोबार आएका कम्पनीको सँख्या भने कढेको छ। आइपिओ निष्काशन गरेर सूचीकृत हुने कम्पनीहरुको सँख्या बढ्दा कारोबार हुने कम्पनीकाे सँख्या भने बढेकाे छ।

चालु आर्थिक वर्षमा व्यापार उपसमूहको सूचकमा सबैभन्दा धेरै दबाबमा देखिएको छ। यस आबमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ४५.६१ प्रतिशतले घटेको छ भने जीवन बीमा उपसमूहकाे ४३.०७ प्रतिशत र निर्जीवन बीमा उपसमूहकाे सूचक ४३.०२ प्रतिशतले घटेको छ

यस्तै लगानी उपसमूहको ३९.२९ प्रतिशत, फाइनान्स उपसमूहको ३६.५८ प्रतिशत, अन्य उपसमूहको सूचक ३१.२८ प्रतिशत, बैंकिङ्ग उपसमूहकाे सूचक ३०.५९ प्रतिशत, होटल तथा टुरीजम उपसमूहकाे सूचक २५.४० प्रतिशत, विकास बैंक उपसमूहकाे २४.११ प्रतिशत, जलविद्युत उपसमूहकाे १८.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको १६.३७ प्रतिशत, लघुवित्त उपसमूहको १६.३६ प्रतिशत र म्युचुअल फण्ड उपसमूहको ४.७० प्रतिशतले घटेको छ।

Share.

Comments are closed.