पछिल्लो समय बंगलादेशको अर्थतन्त्र पनि संकटमा परेको छ। घट्दै गएको विदेशी मुद्रा सञ्चिति, बढ्दो ऊर्जा संकट र आपूर्ति शृंखलामा अवरोधका कारण बंगलादेशको अर्थतन्त्र संकटमा परेको हो।

यिनै संकटबाट बाहिरिन बंगलादेशमा मंगलबार ८ विकासशील देशका व्यवसायी र अधिकारीबीच भेटवार्ता भएको छ।

डी–८ को ब्यानरमा इजिप्ट, इरान, मलेसिया, नाइजेरिया, पाकिस्तान, टर्की र बंगलादेशका प्रतिनिधिले मंगलबार वैकल्पिक वित्तीय व्यापारको बारेमा कुरा गरे। यसमा विदेशी मुद्रा सञ्चितिको दबाबबाट मुक्ति पाउन एकअर्काको मुद्रामा हुने कारोबारलाई पनि परामर्श भएको छ।

अंग्रेजी पत्रिका द हिन्दुले समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै यो समाचारलाई प्रमुख स्थान दिएको छ। बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले डी–८ देशको अर्थतन्त्र ५ ट्रिलियन डलर रहेको बताए। उनले डी–८ देशहरु स्वतन्त्र व्यापार सम्झौता र आपसी व्यापार बढाउन काम गरिरहेको बताए।

डी–८ चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख फजल फहिमले भने, ‘कोभिड महामारी र अन्य प्रमुख विश्वव्यापी आर्थिक अवस्थाका कारण सबै सदस्य राष्ट्रले विदेशी विनिमय सञ्चिति घट्ने र कमजोर मुद्राको समस्या सामना गरिरहेका छन्। आपूर्ति शृंखला अवरुद्ध छ। मुद्रास्फीति बढेको छ। ऊर्जासँगै खाद्य सुरक्षा खतरामा छ। यसका लागि हामीले सावधानी अपनाउन जरुरी छ।’

बंगलादेशको समाचार वेबसाइट डेली स्टारको रिपोर्टअनुसार त्यहाँको सरकारले घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई स्थिर राख्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ४ अर्ब ५० करोड डलर ऋण मागेको छ।

बंगलादेशको जनसंख्या १६ करोड रहेको छ। बंगलादेश विश्वको ४१ औँ सबैभन्दा ठूलो अर्थतन्त्र हो। बंगलादेशले आफ्नो तेल आयात बिल घटाउन डिजेलबाट चल्ने आफ्नो पावर प्लान्ट बन्द गरेको छ। यसबाहेक बंगलादेशको केन्द्रीय बैंकले पनि डलरको भाउ कम भएकाले विलासिताका सामानको आयात घटाउने निर्णय गरेको छ।

बंगलादेशको समाचार वेबसाइट द डेली स्टारको रिपोर्ट अनुसार अर्थमन्त्री एएचएम मुस्तफा कमलले आईएमएफमा ४.५ अर्ब डलर ऋणका लागि औपचारिक निवेदन दिएका छन्।

डेली स्टारको रिपोर्टअनुसार बंगलादेशका अर्थमन्त्रीले भुक्तानी सन्तुलनका साथै जलवायु परिवर्तनका कारण आएको परिवर्तनको सामना गर्न सहयोग मागेका छन्। आईएमएफमा गएपछि बंगलादेश पनि आर्थिक संकट झेलिरहेका देशको सूचीमा परेको स्पष्ट भएको छ।

यो महिनाको सुरुमा आईएमएफले पाकिस्तानलाई ४ अर्ब डलर ऋण दिने सहमति गरेको थियो। यसबाहेक तान्जानियालाई १.०५ अर्ब डलर, घानालाई १.५ अर्ब डलर ऋण दिने सहमति भएको छ।

बंगलादेशको केन्द्रीय बैंकको तथ्यांक अनुसार गत वर्ष जुलाई र यस वर्षको मेबीचको आयात ८१.५ अर्ब डलर पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले बढी हो। जसका कारण बंगलादेशी सामान अन्य देशमा बेचेर प्राप्त हुने रकम र बंगलादेशले अन्य देशबाट खरिद गरेको सामानमा खर्च हुने रकमबीचको अन्तर फराकिलो भएको छ। यसलाई चालु खाता घाटा भनिन्छ।

आर्थिक वर्ष २०२१–२२ को पहिलो ११ महिनामा बंगलादेशको चालु खाता घाटा ६ गुणाभन्दा बढेर १७.२ बिलियन डलर पुगेको छ।

वैदेशिक रोजगारीमा रहेका बंगलादेशीबाट आउने आम्दानीमा आएको कमी र निर्यात घट्दै गएका कारण यहाँको विदेशी मुद्रा सञ्चिति खाली हुँदै गएको छ। गत वर्षको सोही समयमा बंगलादेशको विदेशी मुद्रा सञ्चिति ४५ अर्ब डलर थियो। जुन अहिले जुलाई २० सम्ममा ३९ अर्ब डलर पुगेको छ। यो ५.४ महिनाको आयात बिलभन्दा बढी होइन।

स्रोत: एजेन्सी

Share.

Comments are closed.