उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने गरी कुनै तयारी नभएको बताएका छन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिक साधारण सभामा मन्त्री बडूले पेट्रोलियम पदार्थको आपूर्ति निजी क्षेत्रको सहभागितामा भइरहेकाले निजीकरण हुने विषय हल्ला मात्र भएको बताएका हुन् । “नेपाल आयल निगमले गर्दै आएको कारोबारलाई हस्तक्षेप गरेर निजी क्षेत्रलाई खुला गरिँदैन । यस क्षेत्रलाई देखिएका समस्यालाई सुधार गर्दै जानुपर्छ,” मन्त्री बडूले भने ।

इन्धनको कारोबार निजी क्षेत्रलाई दिने गरी कुनै तयारी नभएको तर यस क्षेत्रका समस्याको दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको उनले बताए । “पेट्रोलियम पदार्थको ढुवानीमा समस्या छ, निजी क्षेत्र आफैँले लगानी गरेर कारोबार गर्दा झनै समस्या देखिन सक्छ,” उनले भने ।

उपभोक्ताको हितलाई ध्यानमा राखेर निगम घाटा कसरी कम गर्ने र सहज तरिकाले कसरी इन्धनको आपूर्ति गर्ने भन्ने विषय खोजी गर्नुपर्ने देखिएको मन्त्री बडूले बताए ।

उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले विदेशी मुद्रा सञ्चितिमा चाप बढेकाले तत्काल इन्धन खपत कम गर्नुुको विकल्प नरहेको र जलविद्युत्को प्रयोग बढाउनुुपर्ने धारणा व्यक्त गरे । स्वदेशमै पेट्रोलियम पदार्थको उत्पादनको बाटो खोज्नेतर्फ लाग्नुुपर्ने देखिएको पनि उनले बताए ।

सो अवसरमा नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले निगमको घाटा बढेको जानकारी दिए । निगम आर्थिक सङ्कटमा गएकाले व्यवसायीले राखेका माग सम्बोधन गर्न नसकिएको उनले जानकारी दिए ।

केही समययता इन्धनको मूल्य घटे पनि कर समायोजन गर्ने भनेर मूल्य घटाइएको र कर नघटाइएकाले तत्काल मूल्य घटाउन नसकिएको उनले जानकारी दिए । खाना पकाउने ग्यासमा मात्र निगमले वार्षिक २६ अर्ब रुपियाँ घाटा बेहोर्नुपरेको उनले जानकारी दिए ।

Share.

Leave A Reply