अर्थतन्त्रमा उद्योग क्षेत्रबाट योगदान पुर्याउनेमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उद्योग क्षेत्रको कुल योगदानमध्ये बागमती प्रदेशको योगदान ३१.६ प्रतिशत छ । यो अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो ।

तथ्याङ्कअनुसार उद्योग क्षेत्रमा प्रदेश १ को योगदान १९.६ प्रतिशत रहेको छ । त्यस्तै मधेश प्रदेशको ११.२, गण्डकी प्रदेशको ११.५ लुम्बिनी प्रदेशको १५.८ प्रतिशत र सुुदूरपश्चिम प्रदेशको ७.१ प्रतिशत योगदान रहेको उल्लेख छ ।

सेवा क्षेत्रमा पनि बागमती प्रदेशको योगदान सबैभन्दा बढी छ । प्रतिवेदनअनुसार अर्थतन्त्रमा सेवा क्षेत्रको कुल योगदानमध्ये बागमती प्रदेशको योगदान ४५.९ प्रतिशत छ । सेवा क्षेत्रमा कर्णालीको योगदान सबैभन्दा कम ३.८ प्रतिशत छ । यस्तै कृषि क्षेत्रको योगदान १७.१ प्रतिशत रहेकामा कर्णाली प्रदेशको ५.४ प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्षमा राष्ट्रिय कुुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) ४८ खर्ब ५१ अर्ब रुपियाँ रहेकामा बागमती प्रदेशको मात्रै १७ खर्ब ९० अर्ब ६८ करोड रुपयाँ रहेको छ । सात प्रदेशमध्ये जीडीपीमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै छ ।

आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर (उपभोक्ता मूल्यमा) ५.८ प्रतिशत रहने अनुमान गरिएकामा बागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशत रहने अनुुमान छ ।

अध्ययन प्रतिवेदनअनुसार बागमती प्रदेशमा धानबालीले ढाकेको क्षेत्रफल १.५ प्रतिशत र फापर बालीले ढाकेको क्षेत्रफल ८.५ प्रतिशतले बढेको छ । कोेदोबालीको क्षेत्रफल १.१ र आलुबालीको ७.३, दलहन बालीको ७.२ प्रतिशत र तेलहन बालीको १.९ प्रतिशतले घटेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलको हिस्सा सबैभन्दा बढी चितवनमा १७.२ प्रतिशत र सबैभन्दा कम रसुवामा १ प्रतिशत रहेको छ । यस्तै तरकारी बालीले ढाकेको क्षेत्रफलमा काभ्रे जिल्ला सबैभन्दा बढी २२.४ प्रतिशत र रसुवामा सबै भन्दा कम रहेको छ । यस्तै फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफल सिन्धुुलीमा १९.७ प्रतिशत र भक्तपुर जिल्लाको हिस्सा सबै कम रहेको छ । समीक्षा अवधिमा यस प्रदेशमा कृषि बालीको उत्पादन ०.६ प्रतिशतले घटेको छ । खाद्य तथा अन्य बालीको उत्पादन १.१ प्रतिशतले घेको छ ।

१३ लाख मेट्रिक टन खाद्यान्न उत्पादन

बागमती प्रदेशमा १३ लाख ९ हजार मेट्रिक टन खाद्य तथा अन्य बालीको उत्पादन भएको छ । यस्तै ६५ लाख ५ हजार १२९ टन तरकारी बाली र १९ लाख सात हजार ७६७ मेट्रिक टन फलफूल तथा मसला उत्पादन भएको छ । खाद्य तथा अन्य बाली उत्पादनमा काभ्रेको हिस्सा सबैभन्दा बढी १९.४ र भक्तपुर र ललितपुरको सबैभन्दा कम अर्थात् ३.३ प्रतिशत रहेको छ । यस प्रदेशमा दूधको ७ प्रतिशत, मासुको ८.१ प्रतिशत र अण्डाको १.५ प्रतिशतले उत्पादन बढेको छ । सबैभन्दा धेरै दूध उत्पादन काभे्रमा हुन्छ भने रसुवामा सबैभन्दा कम उत्पादन हुने प्रतिवेदनमा उल्लेख छ ।

मासु, अण्डा र माछा उपादनमा चितवन सबैभन्दा अगाडि छ । यी तीनै उत्पादनमा रसुवा सबैभन्दा पछि छ । बागमती प्रदेशमा चार लाख २६ हजार ८२ हेक्टर खेती गरिएको क्षेफलमध्ये एक लाख १० हजार ५८३ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । यस्तै घरजग्गा दर्ता सङ्ख्या १४.९ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यो सङ्ख्या १४.१ थियो । समीक्षा अवधिमा घरजग्गा रजिस्ट्रेसनबापत राजस्व सङ्कलन बढेर १५ अर्ब ७५ करोड कायम रहेको छ ।

८९ हजार सवारीसाधन दर्ता

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म बागमती प्रदेशमा सवारीसाधन दर्ता ८९ हजार २२७ रहेको छ । मोटरसाइकल सङ्ख्या ७५ हजार ५७३ तथा अन्य सवारीसाधन १३ हजार ६५४ रहेका छन् ।

Share.

Leave A Reply