नेपाल व्यवस्थापन संघ (म्यान) ले चैत्र २५ गते काठमाडौंमा सीईओ सम्मेलन–२०२२ गर्ने भएको छ ।

नेपालमा यस प्रकारको यो पहिलो सम्मेलन हुनेछ । यसको उद्देश्य देशभरका व्यवस्थापन व्यवसायीहरूलाई एकै ठाउँमा ल्याउने र आर्थिक वृद्धि, महामारीपछिका चुनौतीहरू र रिकभरीका विषयमा छलफल गर्ने रहेको छ ।

‘रि-इन्जिनियरिङ व्यवस्थापन: अस्तित्व, पुनरुत्थान र वृद्धि’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ३ सयभन्दा बढी पेशाकर्मीको सहभागिता रहने संस्थाका अध्यक्ष किरणकुमार श्रेष्ठले जानकारी दिए ।

“म्यान सरकारलाई नीतिगत सिफारिस र सुझावहरू प्रदान गर्ने थिंक ट्याङ्क हो। विगतका वर्षहरूमा, म्यानले विभिन्न देशहरूबाट विज्ञहरुलाई ल्याएर छलफलहरू गरेको थियो। यी छलफलले सरकारलाई नीति निर्माण गर्न मद्दत गरेको छ,” श्रेष्ठले भने, “सिइओ सम्मेलनले मुलुकको कर्पोरेट क्षेत्र र अर्थतन्त्रले सामना गरिरहेका विभिन्न विषयलाई प्रकाश पार्नेछ ।”

त्यसैगरी, म्यानका कोषाध्यक्ष अनु जोशीले सीईओ सम्मेलन संस्थाको प्रमुख कार्यक्रम भएको र यसले नेपाली उद्यमी तथा व्यवस्थापन व्यवसायीहरूले सामना गर्ने चुनौतीहरूमा केन्द्रित हुने जानकारी दिईन्।

म्यानका कार्यकारी निर्देशक अनिल उपाध्यायले सम्मेलनलाई कोभिड रिकभरी चरणको लागि ज्ञान साझेदारी र ज्ञान अभिवृद्धिको प्लेटफर्मको रूपमा अगाडि बढाईने कुरा बताए।

दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा स्वास्थ्य, शिक्षा, पर्यटन, सूचना प्रविधिलगायत सात क्षेत्रमा विभिन्न सातवटा प्यानल छलफल हुनेछन् । त्यस्तै, म्यानले विभिन्न शीर्षकमा उत्कृष्ट व्यवस्थापन व्यवसायीलाई सो अवसरमा पुरस्कृत गर्ने पनि जनाएको छ ।

Share.

Comments are closed.