अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्ने बताएका छन् । अर्थमन्त्री शर्माको नेतृत्वमा सोमबार एमसीसीका डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसीसीको नेपालस्थित राष्ट्रिय निर्देशक (निमित्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासको राजनीतिक विशेषज्ञ रोजी कट्टेल र अर्थ मन्त्रालयका प्रतिनिधिबीच भर्चुअल बैठकमा उनले सो कुरा बताएका हुन् ।

बैठकमा अर्थमन्त्री शर्माले परियोजनाको कार्यान्वयन अवधि एक वर्ष बाँकी रहेको देखिएकाले त्यति ढिला गर्न नहुने बताएका थिए । उनले भने, “एकवर्षे कार्यान्वयन अवधि मेरा लागि धेरै लामो समय भयो । हामी छिटोभन्दा छिटो काम सुरु गर्न चाहन्छौँ । त्यसका लागि एमसीसीले पनि आवश्यक तयारी गरोस् भन्न चाहन्छु । ”

संसद्बाट अनुमोदन भएपछि एमसीसी र अर्थमन्त्री शर्माबीच यो पहिलो पटक बैठक भएको हो । त्यस क्रममा उनले एमसीसी अनुमोदन प्रक्रियामा केही समस्या देखिए पनि कार्यान्वयन चरणमा गएपछि कुनै समस्या आउन नदिने प्रतिबद्धता जनाए । “एमसीसी आर्थिक परियोजना हो र यो चाँडै अगाडि बढ्छ भन्ने कुरामा आमनेपालीलाई विश्वास भइसकेको छ । त्यसैले अब एक वर्षभित्र कार्यान्वयन गर्ने भनेर समय तोक्ने होइन, जतिसक्दो छिटो परियोजना कार्यान्वयन गर्न थाल्नुपर्छ,” उनले भने । एमसीसी विशुद्ध आर्थिक परियोजना भएको विषयमा सरकार स्पष्ट भए पनि विभिन्न कारणले राजनीतीकरण भएको उनको भनाइ थियो ।

धेरै समस्या र चुनौतीका बाबजुत एमसीसी स्वीकार गर्ने निर्णय भएको भन्दै उनले परियोजना कार्यान्वयनमार्फत नेपालको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिएको बताए । सो क्रममा एमसीसीका डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्सले नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडि बढाउन परियोजनाले सघाउने बताए । उनले एमसीसी अनुमोदनका लागि अर्थमन्त्रीले गरेको नेतृत्वका लागि धन्यवादसमेत दिएका थिए ।

Share.

Comments are closed.