अमेरिकाले युक्रेनको ओडेसा बन्दरगाहमा रूसले गरेको क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको छ । युक्रेन र रूसले पारस्परिक युद्धका कारण खाद्यान्न आपूर्तिमा रोक नलगाउने सम्झौता गरेको एक दिनपछि भएको उक्त आक्रमणको अमेरिकाले निन्दा गरेको हो । 

युक्रेनी कृषि उपज निर्यात पुनः सुरु गर्न सहमति जनाएकोे २४ घण्टा नबित्दै रूसले आफ्नो प्रतिबद्धता उल्लङ्घन गरेकामा त्यसको निन्दा गर्दै युक्रेनका कृषि निर्यातलाई निरन्तरता दिइने अमेरिकाले बताएको छ । ब्ल्याक सीका ओडेसा, चेर्नोमोर्स्क र युज्नी बन्दरगाहबाट  खाद्यान्न र मल निर्यातको अनुमति दिन रूस सहमत भएको थियो ।  

क्रेमलिनले युक्रेनमा आफ्नो आक्रमणलाई निरन्तरता दिँदै लाखौँ नागरिकको जीवनको बेवास्ता गरेकामा अमेरिकी विदेशमन्त्रीले वक्तव्य निकालेर रूसको विरोध गरेका छन् । उनले सम्झौताको पालना गर्न र विश्वव्यापी खाद्य सङ्कट ननिम्त्याउन मस्कोलाई आह्वान पनि गरेका छन् ।  यद्यपि रूसले उक्त आक्रमणको खण्डन गरेको छ । टर्कीले पनि ओडेसा बन्दरगाहमा रूसले आक्रमण नगरेको बताएको छ । 

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबारको आक्रमणलाई बर्बरताको संज्ञा दिँदै त्यसको कडा शब्दमा निन्दा गरेका छन् । टर्की र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको सम्झौता कार्यान्वयनमा रूस इमानदार नभएको शनिबारको आक्रमणले पुष्टि गर्छ भन्दै उनले मस्कोलाई विश्वास गर्न नसकिने बताएका छन् । 

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि रूसी आक्रमणको निन्दा गरेका छन् । महासचिवका उपप्रवक्ता फरहान हकले रूसी महासङ्घ, युक्रेन र टर्कीले सम्झौताको पूर्ण कार्यान्वयन गर्नु अनिवार्य भएको बताएका छन् । 

यसैगरी, युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले पनि रूसको ‘निन्दनीय’ क्षेप्यास्त्र हमलाको आलोचना गरेका छन् । उनले रूसलाई  अन्तर्राष्ट्रिय कानून र प्रतिबद्धताहरूको पालना गर्न अनुरोध गरेका छन् ।  

युक्रेनले पनि ओडेसा बन्दरगाहबाट अनाज निर्यात पुनः सुरु गर्ने प्रयास आज थालेको छ । विश्वव्यापी खाद्यान्न अभाव हुन नदिन निर्यातको प्रयास थालिएको पूर्वाधारमन्त्री ओलेक्जेन्डर कुब्राकोभले बताएका छन् । उनले त्यसनिम्ति प्राविधिक तयारी जारी रहेकोे बताए ।

Share.

Comments are closed.