सरकारले साउन १ देखि कर्मचारीको तलब १५ प्रतिशतले बढाउँदै छ । तर त्यो भन्दा अगाडि नै १५ प्रतिशत भन्दा बढी दैनिक उपभोग्य बस्तुको मुल्य बढेको छ ।

कर्मचारीको तलब बढ्नु अगाडि नै धान्नै नसक्ने गरी मूल्य वृद्धि भएको छ । आम नागरिकले प्रयोग गर्ने एक सिलिन्डर ग्यास चुलोमा आउँदा १९ सय रुपैयाँ तिर्नु पर्ने अवस्था छ ।

पछिल्लो पटक सरकारले एक सिलिन्डर ग्यासको मूल्य १८ सय तोकेको छ । तर, ग्यासको सिलिन्डर छोयो कि १०० रुपैयाँ ज्याला लिन थालिएपछि भान्छामा ग्यासको सिलिन्डर पुग्दा १९ सय रुपैयाँ तिर्नुपर्छ ।

ग्यास मात्र होइन्, अन्य खाद्यान्नको मूल्य पनि त्यतिकै बढेको छ । खाने तेलको मूल्य छोइनसक्नु भएको छ । फलफूल खान विरामी नै हुनुपर्ने अवस्था छ । एक दर्जन केराको मूल्य १५० रुपैयाँसम्म पुगेको छ । मूल्य बृद्धि यति धेरै बढेको छ कि १ हजार रुपैयाँ लिएर तरकारी किन्न गइयो भने एक झोला तरकारी पनि आउँदैन् ।

पेट्रोल र डिजेलको भाउ बढेसँगै सार्वजनिक याताको भाडामा वृद्धि भएको छ । पछिल्लो समय बस, ढुवानीका साधनको भाडा बढेको छ । यसले गर्दा पनि दैनिक उपभोग्य बस्तुको भाउ छोई नसक्नु छ ।

मूल्य वृद्धि उच्च दरमा बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि देखाइ रहेको छ । गएको जेठमा मूल्य बृद्धि ८.५६ प्रतिशत रहेको छ । जुन गत वर्षको जेठमा ज्यादै न्यून ४.१९ प्रतिशत थियो । गत वर्षभन्दा यस वर्षको जेठमा मूल्य वृद्धि दोब्बर भन्दा बढीले बढेको छ । राष्ट्र बैंकको याे तथ्यांक भन्दा बढी बस्तुकाे भाउ बढेकाे छ ।

विश्वव्यापी रुपमा भइरहेको वस्तु तथा इन्धनको मूल्यवृद्धि र सार्वजनिक यातायातको भाडादरमा गरिएको समायोजनलगायतका कारणहरुले नेपालमा समेत मूल्यमा चाप पर्न गएको राष्ट्र बैंकको भनाइ छ ।

साथै, कोभिड संक्रमणले विश्व आपूर्ति व्यवस्थामा ल्याएको अवरोध, कोभिड संक्रमण कम भएसँगै विश्व आर्थिक गतिविधिमा भइरहेको विस्तार र रसिया–युक्रेनबीचको युद्ध लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र वस्तु तथा सेवाको मूल्यमा वृद्धि भइरहेको छ । मूल्य वृद्धि केही समयसम्म कायमै रहने राष्ट्र बैंकको भनाइ छ ।

उच्च मूल्य बृद्धिका कारण साउनदेखि बढ्ने कमचारीको तलबले पनि नथेग्ने अवस्था पुगेकाे छ । दुई वर्षपछि मात्रै कर्मचारीकाे तलब बढ्दै छ । यसअघि आर्थिक वर्ष २०७६-७७ मा २० प्रतिशतसम्म कर्मचारीको तलब बढाइएको थियो ।

तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले सरकारी सेवामा रहेका राजपत्र अनंकित कर्मचारीहरुका लागि २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशतले तलब बढाएका थिए । दुई वर्षपछि अहिले १५ प्रतिशत तलब बढाइएको छ । तर त्याे भन्दा बढी मुल्य वृद्धि भएकाे छ । यसरी, कर्मचारीहरुलाई तलब वृद्धिले कुनै तात्त्विक फाइदा हुने देखिन्न ।

Share.

Comments are closed.