मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे । ‘-यापर’को पहिचान बनाएका प्रमुख साहले ह्वाइट हाउस इन्ष्टिच्युड अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनीयरिङमामा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इञ्जिनीयरिङमा स्नातकोत्तर गरेका छन् ।

काठमाडौँ महानगरको नवनिर्वाचित मेयर साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताएका छन् ।राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको आशाअनुरुप सहरको मुहार फेर्ने बताएका हुन् ।

काठमाडौँको मेयरमा उम्मेदवारी दिएपछि उनले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका थिए ।

शिक्षा र स्वास्थ्य उनको पहिलो प्राथमिकता रहेको छ । महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिने उनको याेजना छ । विद्यालयको स्तरोन्नति स–साना कुराबाट सुरु गरिने बताएका छन् । विद्यालयमा पूर्वाधारको विकास गरिनेछ । विद्यार्थीलाई भर्ना गर्नुअगावै अभिभावकले अनुभूति गर्नेगरी विद्यालयको स्तरोन्नति गर्ने बताउँछन् । थ्रिडी भिजुअलाइज’ गरी पढाइलाइ प्रविधिमैत्री बनाउने याेजना राखेका छन्।

स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उनले महानगरका ३२ वटा वडामा वडा क्लिनिकको व्यवस्था गरिने बताए । वडा क्लिनिकमा चिकित्सक, नर्स र प्रयोगशाला राखिनेछ । वडा क्लिनिकमा मुटु, मिर्गौला तथा कलेजो एवं रगत, रक्तचाप, मधुमेहको सामान्य परीक्षण गर्न सक्ने पूर्वाधार निर्माण गरिने पनि बताए । क्यान्सरको स्क्रिनिङ र प्रयोगशाला ३२ वटै वडामा राखी ठूलो रोग लागेर अस्पताल धाउनुपर्ने र धेरै खर्च व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुने धारणा व्यक्त गरे । नागरिक आरोग्यताका लागि विभिन्न स्थानमा उद्यानको निर्माण गरिने पनि बताए । 

पानीको आपूर्ति सहज रुपमा उपलब्ध गराउने याेजना पनि उनले उल्लेख गरेका छन् । ‘मेलम्चीको पानी पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी राजधानी भित्रिँदैछ’, उनले भने, ‘ मेलम्चीबाहेक दैनिक १३ करोड लिटर पानी जलाधार क्षेत्रबाट आइरहेका छन् । हामीलाई चाहिएको दैनिक ४३ करोड लिटर हो’ । अब धेरै ढुङ्गेधारामा मूल फुटाउने योजना रहेकाे उनले बताए । ढुङ्गेधाराबाट जम्मा भएका पानीलाई ट्याङ्कीमा जम्मा गरेर वितरण गर्न सकिन्छ ।

यसका साथै काठमाडौँको ट्राफिक व्यवस्थापन र अव्यवस्थित ‘पार्किङ’लाई व्यवस्थित पार्न कार्यालय समयलाई हेरफेर गर्ने सोचमा उनी रहेको बताउँछन् । विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने सोच पनि उनले व्यक्त गरे।

Share.

Comments are closed.