मधुमेह रगतमा चिनीको मात्रा अत्याधिक भएर हुने एक घातक रोग हो । यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ किनभने नियमित रगत जाँच नगराउने मानिसले यो रोग लागेको पत्ता नपाउन पनि सक्छ । यसको निधो तब हुन्छ जब यसले मानिसको मुटु, मृगौला, आँखा आदि अङ्ग बिगारिसकेको हुन्छ ।

मधुमेह भएका बिरामीमा प्रायः खानेकुरालाई लिएर भ्रम रहेको देखिन्छ। कतिपय बिरामीले खानेकुराको तालमेल मिलाउन नजान्दा औषधि खाँदाखाँदै पनि सुगर सन्तुलनमा हुँदैन। कति बिरामीले त सुनेकै भरमा यो खान हुँदैन, त्यो खान हुँदैन भनेर आफूखुशी खाना बार्ने गरेको पनि पाइन्छ। त्यसैले मधुमेह भएकाले के खान हुन्छ, के खान हुँदैन भन्ने जान्न अत्यन्त जरुरी छ।

खान नमिल्ने

मधुमेह भएका बिरामीले खानै नहुने भनेको चिनी र चिनीबाट बनेका परिकार जस्तै चकलेट, मिठाइ, कोक फेन्टा स्प्राइट जस्ता पेय पदार्थ, हर्लिक्स, बोर्नभिटा, आइसक्रिम, जाम, जेली, सख्खर जंकफुड,आलु र पिँडालु आदि परिकार हुन्।

तेल वा घ्यूमा तारेका खाना वा बोसोजन्य उत्पादन जस्तै डाल्डा, नौनी घ्यू, क्रिम, समोसा, चप र बजारमा तारेर राखेका अन्य खानेकुरा पनि खान हुँदैन।

कम खान मिल्ने

मधुमेह भएका बिरामीहरूले कम मात्रामा केही खानेकुरा खान सक्छन्। अन्नहरूमा चामल, गहुँ, मकै, फापर, कोदो, जौ चिउरा, भुजा मुरै, कर्नफ्लेक्स आदि पर्छन्।

माछामासु–थोरै मात्रामा

अण्डा– दिनमा एउटा

फलफूल– दिनको एउटा मात्र

स्वस्थ मानिससरह खान हुने

हरिया सागसब्जी, करेला, काउली, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुङ्गो, गोलभेँडा, पुदिना, भान्टा, परबल, खुर्सानी, लौका, स्कुस, घिरौला, सलाद, साग, काँक्रो, सेतो मुला, गाँजर, कागती आदि पर्छन्। पेय पदार्थमा चिनी नभएको चिया–कफी र घ्यू नभएको सुप पर्छन्।मसलाजन्य पदार्थहरूमा जिरा, मरिच, मेथी, बेसार, अदुवा, खुर्सानी, सुप र धनियाँ खाँदा कुनै समस्या हुँदैन।

समग्रमा भन्नुपर्दा मधुमेह भएकाले भोको पेट नबसी मात्रा मिलाएर स्वस्थकर खानेकुरा खाँदा हानि हुँदैन।

Share.

Comments are closed.