कोभिड–१९ महामारी नियन्त्रणमा आएपछि उद्योगधन्दामा लगानी बढेको छ । चालू आर्थिक वर्षको नौ महिनामा स्वदेशी लगानीका २२९ नयाँ उद्योग दर्ता भएका छन् । यी उद्योगमा दुई खर्ब ६६ अर्ब १८ करोड रुपियाँ लगानी हुने उद्योग विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ३९ अर्ब ३३ करोड रुपियाँ लगानीको १६९ उद्योग दर्ता भएका थिए ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले उद्योग व्यवसाय गर्ने वातावरण अनुकूल बन्दै गएकाले उद्योग दर्ता गर्नेको सङ्ख्या बढेको बताए । “विगतका वर्षमा कोभिडका कारण उद्योग व्यवसाय सञ्चालन हुन सकेको थिएन, लगानी गर्ने वातावरण अनुकूल बन्दै गएकाले उद्योगमा लागनी बढेको हो,” महानिर्देशक तिवारीले भने ।

विभागका अनुसार सबैभन्दा धेरै उत्पादनमूलक उद्योग दर्ता भएका छन् । सो अवधिमा उत्पादनमूलक उद्योग ८८, ऊर्जा ३५, पर्यटन ३९, सेवा ३७, कृषि तथा वन पैदावारमा आधारित उद्योग १७ वटा दर्ता भएका छन् । यसैगरी सूचना प्रविधिमा आधारित नौ, पूर्वाधारका तीन र खनिज उद्योग एउटा दर्ता भएका छन् । ती उद्योगबाट २१ हजार ५१६ जनाले रोजगारी पाउने प्रतिबद्धता जनाइएको छ ।

Share.

Comments are closed.