देशमा खाद्यान्नको परनिर्भरता बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न (चामल, मकै र गहुुँ) आयात भएको हो । पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब ९७ करोड रुपियाँको चामल आयात भएको हो ।

यस्तै, यहि अवधिमा ६६ अर्ब २५ करोड रुपियाँको मकै र ३३ अर्ब ९० करोड रुपियाँको गहुँ आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । विभागका वरिष्ठ तथ्याङ्क अधिकृत कृष्णराज बजगाईंले वैदेशिक रोजगारीले कृषिमा जनशक्ति अभाव, खेतीयोग्य जमिन घडेरीमा प्रयोग हुनु र उपभोग्य वस्तुको खपत बढ्दै जाँदा आयातमा वृद्धि भएको बताए ।

केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७-०७८ मा ५० अर्ब ७९ करोड रुपियाँबराबरको १३ लाख ३४ हजार तीन सय ३१ मेट्रिक टन चामल आयात भएको छ । आर्थिक वर्ष ०७६/७७ मा ३३ अर्ब ६५ करोड रुपियाँको सात लाख ८८ हजार चार सय ९२ मेट्रिक टन चामल आयात भएको थियो । आर्थिक वर्ष ०७५/७६ मा ३२ अर्ब ६० करोड रुपियाँको सात लाख ६९ हजार पाँच सय ६८ मेट्रिक टन आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

केन्द्रका अनुसार आव ०७४-७५ मा २९ अर्ब ४१ लाख रुपियाँको सात लाख ३९ हजार २०८ मेट्रिक टन आयात भएकोमा आर्थिक वर्ष ०७३-७४ मा २३ अर्ब ८७ करोड रुपियाँको पाँच लाख ९० हजार १५ मेट्रिक टन आयात भएको थियो ।

यस्तै, आर्थिक वर्ष ०७७-७८ मा १६ अर्ब रुपियाँको पाँच लाख ९० हजार ९४२ मेट्रिक टन मकै आयात भएकोमा आर्थिक वर्ष ०७६/७७ मा १४ अर्ब ७५ करोड रुपियाँको चार लाख ४८ हजार ४४३ मेट्रिक टन आयात भएको छ । आर्थिक वर्ष ०७५-७६ मा १२ अर्ब ९५ करोड रुपियाँको चार लाख २० हजार सात सय ५३ मेट्रिन आयात भएकोमा आर्थिक वर्ष ०७४/७५ मा ११ अर्ब ९१ करोड रुपियाँको चार लाख २० हजार ७५३ मेट्रिक टन आयात भएको छ ।

आर्थिक वर्ष ०७३-७४ मा १० अर्ब ६४ करोड रुपियाँको चार लाख ३८ हजार ३८१ मेट्रिक टन मकै आयात भएको केन्द्रको तथ्याङ्क छ । यस्तै, आर्थिक वर्ष ०७७-७८ मा ११ अर्ब ९८ करोड रुपियाँको तीन लाख ८८ हजार २७९ मेट्रिक टन गहुुँ आयात भएकोमा आर्थिक ०७६/७७ मा सात अर्ब ९१ करोड रुपियाँको दुई लाख ३८ हजार ६५५ मेट्रिक टन आयात भएको थियो ।

आव ०७५/७६ मा पाँच अर्ब ८१ करोड रुपियाँको एक लाख ९६ हजार १३३ मेट्रिक टन आयात भएकोमा आर्थिक वर्ष ०७४-७५ मा दुई अर्ब ८४ करोड रुपियाँको एक लाख चार हजार ८९९ मेट्रिक टन आयात भएको थियो ।

नेपालमा चामल भारत, चीन, थाइल्यान्ड, जापान, टर्की, इटाली, म्यानमारबाट आयात हुने गर्छ । मकै भारत, अर्जेन्टिना, साउथ अफ्रिका, थाइल्यान्ड र गहुँ भारत र म्यानमारबाट आयात हुने गर्छ । चामल र गहुँ उपभोगका लागि र मकै कुखुराका दानाका लागि आयात हुने गरेको छ ।

Share.

Comments are closed.