धनुषा जिल्लामा खेतको आलीमै रोपिएको रहर दालको बोटबाट यसवर्ष एक हजार मेट्रिक टन रहर दाल उत्पादन हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र धनुषाको तथ्याङ्कअनुसार जिल्लामा अघिल्लो वर्षमा पनि यही अनुपातमा रहर दाल उत्पादन भएको थियो ।

खेतमै उत्पादन गर्न सकिने भएपनि यस जिल्लाका अधिकांश किसानले खेलको आलीमै रहर दालको खेती वर्षौंदेखि आएका छन् । बाँझो रहने आलीको सदूपयोग पनि हुने र अन्नबाली उत्पादनमा वृद्धि गर्न सकिने हुँदा किसानले खेतको आलीमै यो बाली लगाउँदै आएका हुन् ।

यहाँका किसान अघिल्लो वर्षजस्तै यसवर्ष पनि आलीमा रहर दाल र खेतमा गहुँ, चना, मसुरो, खेसरी, आलसलगायतका अन्नबाली उमारेका छन् । “मिथिला नगरपालिका –३ हरिहरपुरका किसान मनोज महतोले खेतको आलीमा रहर दाल उत्पादन गर्ने चलन पुरानै भएको बताउनुभयो । आलीमा रहर दालको खेती गर्दा किसानलाई दोहोरो फाइदा हुन्छ,” उनले भने ।

ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले यहाँका किसान आलीमै सीमित नराखी खेतीयोग्य जमिनमा रहर दालको खेती गरेर उत्पादनकोे दायरा बढाउनुपर्ने बताए । उत्पादनका लागि उर्वरभूमि मानिएको यो जिल्लाको जुनसुकै भागमा रहर दालको खेती गर्न सकिने उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र प्रमुख साहले भने, “रहर दाल खेतीमा जिल्ला अहिलेसम्म एकदमै राम्रो छ । यस्तै अवस्था रह्यो भने तथ्याङ्कअनुसारकै दाल उत्पादन हुन्छ ।” चैत–बैशाख महिना हावाहुरी र असिनापानी पर्ने महिना भएकाले त्यसो भएमा उत्पादन घट्ने उनको चिन्ता छ । जिल्लामा एक हजार हेक्टर क्षेत्रफल जग्गामा यस वर्ष रहर दालको खेती भएको छ । प्रतिहेक्टर एक मेट्रिक टन दाल उत्पादन हुनेगरेको उनले जानकारी दिए ।

गएको असार–साउन महिना रोपिएकोे रहर दाल चैत महिनाको अन्तिम सातादेखि घर भित्र्याउने गरिन्छ । यो बाली तराईदेखि मध्येपश्चिम तराईको सुख्खा क्षेत्र लगाइन्छ । रहरबालीलाई बहुउपयोगी बालीको रुपमा लिइन्छ । खाद्यान्न, दाउरा, घाँस, माटो उर्वर बनाउन, भूक्षय रोक्नमा मद्दत पुग्नेगरेको मिथिला नगरपालिकाका कृषि प्राविधिक उमेश महतोले बताए ।

नेपालमा रहर एकल बालीको रुपमा वा विभिन्न बालीसँग मिश्रित बालीको रुपमा लगाउन सकिन्छ । यसको बोटबाट सरदर १ टन प्रतिहेक्टर सुकेको पात, खेत वा बारीमा झर्दछन् फलस्वरुप यी पातहरु कुहिएर थप प्राङ्गारिक मलको रुपमा प्रयोग भई माटो उर्वर राख्न मद्दत पुग्छ ।

Share.

Comments are closed.