गणतन्त्रको १५ वर्षको अवधिमा जनअपेक्षा पूरा हुन नसके पनि प्राप्त उपलब्धिलाई कम आँक्न नहुने बृद्धिजीवीले बताएका छन् । उनीहरुले जनताले सोचेजस्तो परिवर्तन हुन नसके पनि धेरै कुरा पूरा हुँदै गएको बताएका हुन् ।

मानव अधिकारवादी बालकृष्ण पौडेल गणतन्त्रबाट पूर्णरुपमा सन्तुष्टि हुने अवस्था नभए पनि उपलब्धिलाई कम आँक्नु गलत हुने बताउँछन् । राजतन्त्र र गणतन्त्रको दूरी आकाश र जमिनको जस्तो भएको उल्लेख गर्दै उनले भने, “जनताको आधारभूत आवश्यकता पूरा गर्ने क्रममा सुशासन, समृद्धि र जनताका आधारभूत कूरा जेजति गणतन्त्रमा दिनसकिन्छ, त्यो राजतन्त्रले दिन सक्दैन ।”

गणतन्त्र जनताद्वारा जनताका लागि आफैँले गर्ने शासन व्यवस्था भएको उल्लेख गर्दै पौडेलले भने, “जेजति उपलब्धि १५ वर्षमा भए त्यो उपलब्धि राजतन्त्रमा सयौँ वर्षमा पनि सम्भव थिएन र भएन । कसैले व्यक्तिगतरुपमा राजतन्त्रका कुरा गरिराखेका छन्, भावी सन्ततिको भविष्य नसोच्ने तथा विकासका र समृद्धिका बारेमा नसोच्नेको धारणा हो त्यो ।”

वाम बुद्धिजीवी रमाकान्त सापकोटा गणतन्त्रको दिशामा भएका संवैधानिक, कानुनी प्रक्रिया सकारात्मक भएको बताउँछन् । उनले भने, “गणतन्त्रमा भएका अभ्यासलाई सकारात्मक रुपमा लिन सकिन्छ ।” राजनीतिक नेतृत्वको दलीय तथा व्यक्तिगत स्वार्थ, आग्रह, पूर्वाग्रह, प्रयोग गरिएको भाषाशैली नागरिकले रुचाउने खालका नभएको भन्दै उनले अगाडि थपे, “फेरि पनि संवाहक भनेको दल र दलको नेतृत्व नै हो । यदाकदा नागरिक र स्वतन्त्र व्यक्तिको योगदान रहन सक्छ । महत्वपूर्ण भूमिका खेल्नुपर्ने दलले नै हो ।”

दल र दलको नेतृत्वलाई धेरै सुधार गर्नुपर्ने अवस्था रहेको सापकोटाको भनाइ छ । उनले थपे, “दल र दलको नेतृत्वलाई जनताले आगामी दिनका निर्वाचनलाई प्रयोग गरेर सुधार्नुपर्छ ।”

वीरेन्द्र बुहुमुखी क्याम्पस भरतपुरका सहप्राध्यापक डा. एकनारायण पौडेलले गणतन्त्रले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको र आफ्नो नीति नियम आफैँ निर्माण गर्ने तहमा पु-याएको बताए । स्वायत्तताका हिसाबले केही उपलब्धी भएको उल्लेख गर्दै उनले भने, “स्थानीय तहमा बजेट आउने कुरा, स्थानीय तहको नीतिनियम आफैँ बनाउने कुरा, स्वयत्तताका हिसाबले केही उपलब्धि भएको छ ।”

प्रादेशिक संरचनाका कारणले खर्च बढेको पौडेलको भनाइ छ । उनले भने, “अधिकारसँगै भ्रष्टाचार बढेको छ । नियमन राम्रो हुन सकेको छैन । विसङ्गति सँगसँगै आएको छ ।”

केन्द्रीय राजनीतिको संस्कारमा परिवर्तन आउन नसकेका कारण युवामा वितृष्णा आएको पौडेलको बुझाइ छ । उनले अगाडि थपे, “केही निराशा पनि छ । यसलाई नेतृत्वले सच्याउनुपर्छ ।”  अधिकारको सवालमा चेतना जागेको उनले बताए ।

Share.

Comments are closed.