नेपाल धितोपत्र बोर्ड(सेबोन) ले गोल्डम्यान इन्भेष्टमेन्टमाथि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइवी)लाई निर्देशन दिएको छ ।

गोल्डम्यानले ठगी गरेको आशंकामा धितोपत्र बोर्डले सिआइवीलाई छानबिनका लागि पत्राचार गरेको हो । बोर्डले छानबिनका लागि सहयोग गर्न अर्थ मन्त्रालयलाई समेत चिठी पठाएको छ । धितोपत्र बोर्डका अनुसार सेयर बजारसम्बन्धी कारोबार गर्ने भनी संस्थागत सेयर भन्दै गैरकानुनी तरिकाबाट गतिविधि गरेको पाइएपछि छानबिनका लागि प्रहरीलाई पत्राचार गरिएको हो ।

गोल्डम्यानले इन्भेष्टमेन्टले तीन वर्षभित्र पब्लिक सेयरमा जाने भन्दै अहिलेदेखि संस्थागत पुँजी संकलनका लागि योजना सार्वजनिक गरेको छ । त्यसबारे बोर्ड आफैंले पनि अनुसन्धान गरिरहेको छ ।

उसले आफ्नो कम्पनीको वेबसाइटमा विज्ञापन सार्वजनिक गरेको छ । त्यसमा न्यूनतम् १० लाख रुपैयाँ बराबरको संस्थागत सेयर आह्वान गरिएको छ । सो सेयर आए १० वर्षको नाफा र प्रतिफल गरेर ५ सय प्रतिशतसम्म लाभांश दिइने भनिएको छ ।

‘यसरी बन्नुस् १० वर्षमै १० लाखबाट १० करोडको मालिक’ भन्दै विज्ञापनमा कम्पनीसँग आवद्ध हुन आह्वान गरिएको छ । नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार, सूचना प्रविधिलगायतका विभिन्न क्षेत्रमा ५० वटा कम्पनी स्थापना गरी आगामी १० वर्षमा २.५ खर्बको कम्पनी बनाउने गोल्डम्यानले प्रचार गरिरहेको छ ।

Share.

Comments are closed.