पेटका विभिन्न रोगहरूमध्ये ‘ग्यास्ट्रिक’ एक आम मानिसमा देखिने समस्या हो। ‘हाइड्रोक्लोरिक एसिड’ले हामीले खाएको खानेकुरालाई पचाउँछ। तर जब हाम्रो आमाशयमा चाहिने भन्दा बढी ‘हाइड्रोक्लोरिक एसिड’ जम्मा हुन्छ, त्यसपछि ग्यास्ट्रिक सुरु हुन्छ।

कस्ता व्यक्तिलाई हुन्छ ?

आमाशयमा खाना पचाउने एसिड हुन्छ। त्यो एसिडमा समस्या भएमा र सामान्य पाचन प्रक्रियामा समस्या देखिँदा ग्यास्ट्रिक हुन्छ। ‘हेलिकोब्याक्टर पाइलोरी’, एक किसिमको जीवाणु हो जुन ग्यास्ट्रिक हुनुको मुख्य कारण हो। समयमा नखाने, चिल्लो पिरो बढी खाने, रक्सी खाने, चुरोट बढी खाने व्यक्तिलाई ग्यास्ट्रिक बढि हुन्छ।


ग्यास्ट्रिकको लक्षण

ग्यास्ट्रिकमा साधारण पेट दुख्नेदेखि लिएर ठूलो लक्षणसम्म पनि हुन्छन्। मुख र दिसाबाट रगत आउने पनि हुनसक्छ। नाइटोभन्दा माथिल्लो भाग दुख्ने, वाकवाकी आउने, खाना रुचि कम हुने, मुखमा अमिलो पानी आउने र डकार आउनेजस्ता समस्या देखिन्छन्। दिसा, बान्तामा रगत आउने, कालो दिसा आउनेजस्ता समस्या पनि ग्यास्ट्रिकको लक्षण हो।

यसबाट बच्न के गर्ने ?

चुरोट, रक्सी नखाने, समयमा खानपान गर्ने, काम, आराम गर्ने समय व्यवस्थित गरे ग्यास्ट्रिक धेरै मात्रामा कम हुन्छ। अमिलो, पिरो, पोलेको, तारेको खानेकुरा कम खाँदा ग्यास्ट्रिकबाट बच्न सकिन्छ।

के खाने, के नखाने

पहिलो त जिब्रोको लागि नभएर शरीरका लागि खानुपर्छ। कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन, मिनरल्सहरू मिलाएर खानुपर्छ। पोलेको, तारेको, भुटेको खानेकुरा नखाने बानी बसाल्नुपर्छ। नियमित रूपमा र सादा खानेकुरा मात्र खाने गर्नुपर्छ। फलफूल, सागसब्जी र पानी प्रशस्त मात्रामा खानुपर्छ।

उपचार

ग्यास्ट्रिक कुन चरणमा छ, यसको अवस्था हेरेर उपचार गरिन्छ। सुरुको चरणमा छ वा अल्सर नै भइसकेको यकिन गर्नुपर्छ। साधारण अवस्थाको ग्यास्ट्रिक खानपानमा ध्यान दिएर र जीवनशैली बदलेर निको पार्न सकिन्छ। ग्यास्ट्रिक कम गर्न ‘प्यान्टोप्राजोल’, ‘ओमेप्राजोल’, ‘रानिटेरिन’ जस्ता औषधि खान सकिन्छ।

ग्यास्ट्रिक हो या होइन भनेर यकिन गर्नको लागि रगत, पिसाब, दिसा जाँच्ने, पेटको भिडियो एक्स–रे गर्नुपर्छ। अल्सर अथवा क्यान्सर भएको छ वा छैन भनेर बुझ्न ‘इन्डोस्कोपी’ गरेपछि कस्तो औषधी खाने भनेर चिकित्सकसँग सल्लाह लिन सकिन्छ।

Share.

Comments are closed.