बैंकहरुले घरजग्गा प्लटिङ क्षेत्रमा ३६ अर्बभन्दा बढी कर्जा लगानी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार रियल स्टेटमा गएको कुल कर्जामा फागुन अन्तिमसम्ममा बैंकहरुले जग्गा खरिद र प्लटिङको लागि जम्मा ३६ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन्। पछिल्लो ८ महिनामा हेर्दा यो कर्जा ४२.७ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षको अन्तिम अर्थात असार मसान्तसम्ममा बैंकहरुले जग्गा खरिद तथा प्लटिङ्गको लागि २५ अर्ब ४६ करोड रुपैयाँ कर्जा दिएका थिए तर पुस अन्तिमसम्म आइपुग्दा त्यो बढेर ३६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। यो भनेको झण्डै १० अर्ब रुपैयाँले बढेको हो।

यस्तै फागुनसम्ममा बैंकहरुले रियल स्टेट क्षेत्रमा कुल २ खर्ब १२ अर्ब रुपैयाँ लगानी गरेका छन्। गत आर्थिक वर्षको असार मशान्तसम्ममा बैंकहरुको यस्तो कर्जा १ खर्ब ८३ अर्ब रुपैयाँ मात्रै थियो। चालु आर्थिक वर्षमा लगातार बढेको रियल स्टेट कर्जा १५.८ प्रतिशतले बढेको छ भने गत वर्ष फागुन महिनामा सो कर्जा ५.४ प्रतिशतले मात्रै बढेको थियो । रियल स्टेट क्षेत्रमा गएको कुल कर्जामा बैंक तथा वित्तीय संस्थाले कमर्शियल कम्प्लेक्स र अपार्टमेन्ट बनाउनको लागि मात्र २४ अर्ब ७१ करोड रुपैयाँ कर्जा जारी गरेको पाईएको छ।

Share.

Comments are closed.