काभ्रेपलाञ्चोकका गाउँगाउँमा सञ्चालित ज्ञानोद्यान किसानको प्राविधिक सहयोगीको आधार बन्न सफल भएको छ । कृषि समूहका निश्चित क्षेत्रमा नमुनाका रूपमा सञ्चालित सो उद्यानकै कारण किसानलाई कृषि प्राविधिक खोज्ने झन्झट करिबकरिब हटेको छ ।

यसले किसानलाई रोग/किरा कसरी व्यवस्थापन गर्ने, के औषधि राख्ने, प्राङ्गारिक बाली उत्पादन कसरी गर्ने र जलवायु परिवर्तन अनुकूलन खेती प्रणाली कसरी अपनाउने भनेर ज्ञान दिएको छ जसले बाली उत्पादन बढाएको र जैविक प्रविधिको प्रयोगले वातावरण संरक्षणमा सहयोग पुर्याएको छ ।

“नलेज पार्कमा १०/१२ थरीका प्रविधि प्रयोगमार्फत कृषिसम्बन्धी ज्ञान लिइन्छ, अर्गानिक खेतीमा जान सहयोगी भएको छ, यो हाम्रा लागि भरपर्दाे एक सिकाइ केन्द्रको हो”, नमोबुद्ध नगरपालिका –६, चरङ्गेका भरतप्रसाद न्यौपानेले भने ।

भकुन्डे कृषि उपज सङ्कलन केन्द्र र त्यसअन्तर्गत राधाकृष्ण कृषक समूह (दुवै संस्था) का अध्यक्ष न्यौपाने समूहमा मात्रै झण्डै २०० रोपनीमा तरकारी खेती हुँदै आएको सुनाउँछन् । त्यो तरकारी जैविक सरहकै उत्पादन हुने गर्छ ।

विगतमा काभ्रेपलाञ्चोकका तरकारीमा बढी विषादी भयो भनेर आरोप लागेको थियो । यस सिकाइले भने त्यसलाई हटाउन र बढ्दो विषादी रोक्न किसान सफल भएका छन् । किसानलाई जलवायु परिवर्तनअनुसार कसरी खेतीबाली लगाउने भन्ने सिकाइ पनि प्राप्त भएको छ ।

उद्यानमा मोहनी पासो, सोली पासो, च्यापच्यापे पासो र बत्ती पासो थापेर किराबाट तरकारी जोगाउन सकिन्छ । ट्रे र जालीमा बेर्ना उत्पादन, मलखाद, झोल मल र अमृत जल यही उद्यानमा उत्पादन हुन्छ । कसरी उत्पादन हुन्छ भन्ने कुरा किसान आफैँले अभ्यास गरेर थाहा पाउँछन् ।

बिरुवा स्वस्थ बनाउनका लागि अमृत जलको प्रयोग हुन्छ । तीस लिटर गाईको पिसाब, झन्डै दुई पाउ सखर, एक पाउ कोसेबालीको पिठो र ६० लिटर पानी मिसाएर घोलेपछि अमृत जल तयार हुन्छ । यसले बिरुवालाई स्वस्थ बनाएर प्रतिरोधात्मक क्षमता बढाउने न्यौपाने जानकारी दिन्छन् । किरा व्यवस्थापन गर्न लाइट पासो, सोली पासो र मोहनी पासो प्रयोग गरिन्छ ।

त्यस्तै ‘नलेज पार्क’ नमोबुद्ध – २ कुँइकेल थुम्कामा इन्द्रबहादुर कुइँकेलको बारीमा पनि छ । उनले दुई रोपनी क्षेत्रमा उद्यान बनाएका छन् । बढ्दो विषादीका कारण मानिसको स्वास्थ्य बिग्रिरहेका बेला स्वस्थ शरीरका लागि दैनिक खाने तरकारी स्वस्थकर हुनैपर्छ । “त्यसैले आफैँले उत्पादन गरेर आफैँले खानुपर्छ, बढी भएकामा अरूलाई पनि स्वस्थकर तरकारी खुवाउनुपर्छ भनेर अर्गानिक तरकारीमा जोड दिन थालेको छु”, कुँइकेल भन्छन् । ज्ञानोद्यानमार्फत अरूलाई पनि सिकाउँदै गएको जानकारी दिँदै उनले थपे, “यस्तो प्रविधिको विकास देशैभरी हुनुपर्छ ।”

यहाँका किसानमा पछिल्ला समय जलवायु परिवर्तन अनुकूलन कृषि प्रणालीमा आकर्षण बढ्न थालेको छ । अहिले सुक्खा पखेरालाई हरियाली बनाउने तथा पाखोबारीमा परेको पानी जम्मा गरेर तरकारी खेती गरी हराभारा बनाएर मनग्य आम्दानीसमेत लिन थालिएको अर्का कृषक जमुना अधिकारी बताउँछिन् । उनका अनुसार कुन बेला के तरकारी लगाउने, कस्तो बेला कुन रोग र किरा लाग्छ, त्यसको उपचार के हुनेलगायत सन्देश मोबाइलमै पठाइने हुँदा किसानलाई थप सजिलो भएको छ ।

Share.

Leave A Reply