काठमाडौँ, धरान, धनगढी लगायतका ठाउँमा स्वतन्त्र उम्मेदवारले अग्रता लिने र जित्ने क्रम जारी छ । काठमाडौँमा बालेन्द्र शाहले जित्ने पक्का जस्तो हुँदा धरानमा हर्क राई र धनगढीमा गोपाल हमालले मेयरको सिट कब्जा गरिसकेका छन् ।

एक पत्रकार सम्मेलन गर्दै धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले सचिवालय सदृढ बनाउने र अधुरा योजनाहरु समयसीमा भित्र सम्पन्न गर्ने कामलाई पहिलो प्राथमिकता दिने जनाएका छन् ।

हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरेका हुन् । अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए ।

उनले भने,”आर्थिक वर्षको अन्त पनि आइसकेको छ, त्यसैले जति पनि पेन्डिङ योजनाहरु छन् तिनलाई समयसीमा भित्र गुणस्तर कायम गरेर सम्पन्न गर्नेमै ध्यान दिन्छौं।”

उनले सचिवालयलाई चुस्त, दुरुस्त, पारदर्शी र जनमुखी बनाउने कामलाई पनि पहिलो प्राथमिकता दिने बताए । “पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण हुन्छ । किनभने जबसम्म सचिवालय सुदृढीकरण हुँदैन, तबसम्म कुनै पनि योजनाहरु सही तरिकाले कार्यान्वयन हुँदैनन्उ,” हमालले भने । अहिलेको सचिवालयलाई कसरी सुदृढ बनाउन सकिन्छ भनेर कार्यालय प्रमुख, विभिन्न शाखा प्रमुखहरुसँग छलफल गर्ने उनले जानकारी दिए ।

उनले इमान्दारीपूर्वक सबैको साझा उपमहानगरपालिकाको रुपमा धनगढीलाई विकास गर्ने बताए ।

Share.

Comments are closed.