कुनै समय थियो जब मानिससँग साधन र सुविधा कम थियो तर जीवनमा आराम बढी थियो । आजको तिब्र गतिको जीवनमा सबै प्रकारका सुविधा र साधन उपलब्ध छन् तर मनमा शान्ति भने छैन । अहिले शान्तिको ठाउँ तनावले लिएको छ । तनाव हरकोही मानिसलाइ भइरहेको हुन्छ । यसले ठुलो- सानो गरिब – धनी , सक्षम-असक्षम भन्दैन। तनावपूर्ण जीवनका मुख्य कारण हुन्- काम, क्रोध, लोभ, मोह, ईष्र्या, प्रतिस्पर्धा, वातावरण र रोगव्याधि । कहिले चाँडो अफिस पुग्ने तनाव, कहिले टार्गेट पूरा गर्ने हतार, कहिले ब्रेकअपको पीडा, कहिले आर्थिक व्यवस्थापनको दबाब ,विद्यार्थीलाई पढाइ–लेखाइ, युवालाई रोजगार र प्रेमसम्बन्ध, गृहिणीलाई घरायसी कामकाज र व्यवस्थापन, कृषकलाई खेती बढाउने, व्यापारीलाई कारोबारको तनाव हुन्छ । नेता र पार्टीलाई मानवीय, आर्थिक र राजनीतिक तनाव हुन्छ । हाम्रो दैनिक जीवनमा तनाव बढाउने धेरै कारकहरू छन्।

तनाव एक मानसिक अवस्था को परिणामस्वरूप एक विकार हो। मनको अवस्था र परिस्थिति बीचको असन्तुलन र असमानताको कारण तनाव उत्पन्न हुन्छ। तनाव एक धेरै ठूलो रोग हो, जसले दिमाग र भावनाहरूमा गहिरो दरार पैदा गर्छ। तनाव अन्य धेरै विकारहरूको प्रवेश द्वार हो। यस कारणले मन अशान्त हुन्छ, भावना अस्थिर हुन्छ र शरीर अस्वस्थ महसुस हुन्छ। यस्तो अवस्थामा हाम्रो दक्षता प्रभावित हुन्छ र हाम्रो शारीरिक र मानसिक विकास यात्रा अवरुद्ध हुन्छ।

जब हामी कुनै पनि कुराको तनाब महसुस गर्छौं, हाम्रो शरीरले निश्चित प्रकारका हार्मोनहरू एड्रेनालाईन र कोर्टिसोल स्राव गर्छ। यी हर्मोनले मुटुको धड्कन बढ्छ, मांसपेशीहरू तनावग्रस्त हुन्छन्।।

व्यक्तिमा नकारात्मक भावना, झर्किने, रिसाउने, ठूलो स्वरमा बोल्ने, बोल्दैनबोल्ने वा सानो कुरालाई ठूलो बनाउनेलगायत समस्या हुन्छन् । यी सबै सामान्य स्तरका तनाव हुन् । तनाव सामान्यबाट जटिल प्रकारको बन्दै जाँदा काम गर्ने र निर्णय लिने क्षमता तथा सिर्जनशीलतामा ह्रास आउँछ । आफ्नो इज्जत, प्रतिष्ठामा ठेस लागेको महसुस हुँदा मानिसमा विचलन आउँछ र आत्महत्याको अवस्थासम्म पुग्छ ।

कहिले मानसिकबाट शारीरिक त कहिले शारीरिकबाट मानसिक तनाव हुन्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपना, एलर्जी, माइग्रेन, थाइराइड, एसिडिटी, क्यान्सर, पेट र मुटुरोगजस्ता शारीरिक कारणले मानसिक तनाव गराउँछन् । स्वस्थ र दीर्घ जीवनका लागि तन र मन दुवै स्वच्छ हुन जरुरी छ । त्यसैले हाम्रा पुर्खाले जीवनशैलीलाई सरल र व्यावहारिक बनाएको पाइन्छ ।

तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीर दुबैलाई हानि पुर्‍याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव व्यवस्थापन गर्न यस्ता उपायहरु अपनाउन सकिन्छ :

  • काममा कहिलेकाहीँ हामी यति लिप्त भएका हुन्छौँ कि आराम गर्न पनि भुल्छौँ। आराम कम भयो भने यसले तनाव उत्पन्न गराउँछ
  • मनमा कुनै कुरा खेलिरहेको छ अथवा कुनै कुराको चिन्ता छ भने साथीभाइसँग भेटघाट गर्ने गर्नुस्। साथीभाइबीच हाँसखेल चल्छ, जसले तनाव कम गरिदिन्छ। सामान्य बेला पनि फुर्सद निकालेर बेलाबेलामा मिल्ने साथीभाइसँग भेटघाट गर्नु राम्रो हुन्छ।
  • अनावश्यक विवादबाट टाढा रहनुस् सरोकार नभएको विवादमा भरसक मुछिनु हुँदैन। यसो गर्दा अनावश्यक तनाव लिनुपर्दैन।
  • पुरानो कुनै कुराले तपाईंलाई चिन्तित बनाउने गर्छ भने त्यस्तो कुरा बिर्सिने प्रयास गर्नुस्। यसका लागि वर्तमानका अथवा भविष्यका कुरा सम्झिने गर्नुस्। बिस्तारै यस्तो गर्दै जानुभयो भने तपाईं विगतको धङधङीबाट बिस्तारै बाहिर निस्किँदै र तनावमुक्त हुँदै जानुहुन्छ।
  • तनाव कम गरी मनलाई प्रसन्न र स्वस्थ राख्न ‘लाफ्टर थेरापी’ गर्ने गरिन्छ। यसका लागि बिनाप्रयोजन बेस्कन हाँस्ने गर्नुस्। सक्नुहुन्छ भने पेट मिचीमिची हाँस्ने गर्नुस्। यसरी हाँस्दा शरीरमा मनलाई प्रसन्न बनाउने हार्मोनको उत्सर्जन बढ्छ, जसले गर्दा तनाव स्वतः कम हुन्छ।
  • कुनै कुराले पिर परेको छ अथवा तनाव सिर्जना गराएको छ भने यसलाई भुल्न मदिराको सहयोग लिनेहरू धेरै छन्। तर, बढी मदिरा लिने गर्नुभयो भने यसले तनाव घटाउने होइन, थप बढाउँछ। यसले तपाईंको आर्थिक र पारिवारिक जीवनमा तथा स्वास्थ्यमा पनि असर गर्छ, जसले गर्दा तनाव घट्नुको सट्टा थपिन पुग्छ।
  • कामका बीच तनाव कम गर्ने बहानामा चिया, कफीजस्ता क्याफिनजन्य पेय पदार्थ बढी खाने गर्नुभयो भने यसले तपाईंलाई अझ तनावमा पार्छ। किनकि, यसले तपाईंको शरीरलाई डिहाइड्रेट गरिदिनुको साथै निद्रालाई पनि कम गरिदिन्छ। पानी र निद्रा कम भएको शरीर तनावरहित हुन सक्दैन।
  • धेरै भावुक नहुनुस् -एउटा भनाइ छ– अतिले खती गर्छ। स–साना कुराले भावुक बनाउने गरेको छ भने तपाईं तनावग्रस्त अवस्थामा पुगिरहनुहुन्छ। यदि, आफू बढी नै भावुक छु जस्तो लाग्यो भने भावुक बनाउने कुराबाट अन्तै मन डुलाउने प्रयास गरेर यसलाई कम गर्न सकिन्छ।
  • डाक्टरसँग परामर्श लिनुस् -यदि तपाईंलाई बढी नै तनाव हुन्छ र यसले निदाउन नदिने गर्न थालेको छ भने डाक्टरसँग परामर्श लिइहाल्नुपर्छ। डिप्रेसन हुँदा पनि यस्तो अवस्था उत्पन्न हुन सक्छ। डिप्रेसन भएको रहेछ र समयमै औषधि खानुभएन भने तपाईंको मानसिक स्वास्थ्य अझ बिग्रिँदै जान सक्छ।
  • जस्तोसुकै व्यस्त हुनुहुन्छ भने पनि पर्याप्त निद्राका लागि समय छुट्याउने गर्नुपर्छ। छदेखि आठ घण्टासम्म दिनहुँ सुत्नुभएन भने तपाईंको मन स्वस्थ रहन सक्दैन। तनावग्रस्त अवस्थामा हुनुहुन्छ भने त अझ निद्राको अवधि पूरा होस् भन्नेमा चनाखो बन्नुपर्छ।
  • नियमित व्यायाम गर्नुस्-योग, व्यायाम नियमित गर्ने गर्नुभयो भने शरीरमा अक्सिजनको ‘इन्टेक’ बढ्छ। रगतमा अक्सिजनको मात्रा बढ्यो भने यसले तपाईंलाई आलस्य, चिन्ता, तनावबाट मुक्त हुन मद्दत गर्छ।
Share.

Leave A Reply