तनाव कसलाई हुँदैन र? तनाव भनेको गाह्रो परिस्थितिको सामना गर्नुपर्दा शरीर र मनले देखाउने प्रतिक्रिया हो। तनाव हुँदा हाम्रो मस्तिष्कले शरीरको विभिन्न अङ्गमा हर्मोनहरू अत्यधिक मात्रामा उत्पादन गर्छ। त्यसले मुटुको धड्कन बढाउने, रक्तचाप घटबढ गर्ने, फोक्सोलाई आवश्यकताभन्दा धेरै फुलाउने वा खुम्चाउने गर्नुको साथै मांसपेशीलाई कडा बनाउने गर्छ। हाम्रो मस्तिष्कले वास्तवमा के भइरहेको हो भनेर ठम्याउनुअघि नै हाम्रो शरीरले यस्तो प्रतिक्रिया देखाउन थालिसकेको हुन्छ। अनि तनावको अवधि सिद्धिएपछि हाम्रो शरीर फेरि सामान्य अवस्थामै फर्कन्छ।
तर अचाक्ली तनाव वा लामो समयदेखि पिरोलिरहेको तनावले हानि पुऱ्याउँछ। हरसमय वा बारम्बार तनावमा डुबिरहनुभयो भने त्यसले तपाईंलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा असर गर्न थाल्छ। तपाईंको आनीबानी र व्यवहारमा समेत परिवर्तन आउन सक्छ। लामो समयदेखि पिरोलिरहेको तनावको कारण मानिसहरू लागूपदार्थ सेवन गर्छन् । यसले स्वास्थ्यलाई झन् हानि गर्छ। साथै यसले अन्य ठूलठूला समस्या समेत निम्त्याउन सक्छ, जस्तै डिप्रेसन हुने, जीवनदेखि दिक्क लाग्ने वा आत्महत्याको सोँचाई आउने आदि।
बच्चालाई पढाईको तनाव, युवालाई जागिरको, बुढेसकालमा स्वास्थ्य सम्बन्धी तनाव आदि हुने गर्छ। अहिले आम मान्छेलाई थुप्रै समस्याले तनाव बढाइरहेको छ । यो परिवेश बीच विभिन्न वैज्ञानिक अनुसन्धानले खानपानबाट तनाव गर्न सकिने तथ्य प्रमाणित गरेको छ । तनावकम गरी मन शान्त बनाउने केही खानेकुरा यस प्रकार छन्:
दही
दही खानाले तनावकम हुन्छ र दिमाग शान्त रहन्छ । दहीमा भएको माइक्रो ब्याक्टेरियाले चिन्ता कम गर्न मद्दत गर्दछ ।
डार्क चकलेट
डार्क चकलेटको सेवनले व्यक्तिलाई तनाव, चिन्ता र उदासी कमगर्न मद्दत गर्दछ । चकलेटमा एन्टि अक्सिडेन्टहरूले मस्तिष्कको कार्य सुधार गर्दछ । यसले रक्त सञ्चारमा पनि सुधार गर्दछ ।
ग्रिन टी
हरियो चियामा एलथियानिन भन्ने विशेष एमिनो एसिड हुन्छ । जसले दिमागलाई स्वस्थ राखेर व्यक्तिको तनाव कम गर्दछ । यसमा रहेको एसिडले कार्टोसोल हर्मोन पनि कम गर्दछ । कार्टिसोल हार्मोनलाई तनाव हार्मोन पनि भनिन्छ । यस कार्टसोल हार्मोनको बृद्धिका कारण व्यक्ति तनावबाट ग्रस्त हुन्छ ।
बेसार
बेसारको सेवन व्यक्तिको दिमागको लागि धेरै फाइदाजनक हुन्छ । बेसारमा रहेको कर्क्युमिन नामक तत्वले चिन्ता र तनावलाई कमगर्दछ । कर्क्युमिन ओमेगा फैटी थ्री एसिडले डीएचए लाई बढाइ दिन्छ, जुन तनाव कमगर्ने सबैभन्दा उत्तम प्रकृया हो ।
बेरी
बेरीमा धेरै एन्टिआक्सिडेन्टहरू हुन्छन्, जुन शरीरकालागि ज्यादै लाभदायक छन् । स्ट्रबेरी, ब्लूबेरी, रास्पबेरी आदि भिटामिन सीको उत्तम स्रोत हुन् । यी फल खानाले व्यक्तिको तनाव कम गर्न मद्धत पुग्छ ।
भनिन्छ, चिन्ताले चितासम्म पुर्याउँछ । त्यसकारण, हामीले चिन्ता र चिन्तनबीचको फरक बुझ्नुपर्छ ।चिन्ता कुनै कुरामा कहिल्यै नरोकिने सोँच लगातार बगिरहने समस्या हो जसबाट समाधान पनि निस्किंदैन । अर्कोतर्फ, चिन्तनले समाधान निस्किन्छ । त्यसकारण, हामीले चिन्तन गर्ने बानी बसालौं र चिन्ता छोडौं । त्यसको लागि सही खानाको साथमा ध्यान, योग, व्यायाम गर्ने गरौँ । तनाव आफैँ कम हुँदै जान्छ ।