पूर्वपश्चिम लोकमार्गअन्तर्गत धनुषाको ढल्केवरमा तरबुजाको व्यापार फस्टाएको छ । गर्मी महिना सुरुभएसँगै तरबुजाको व्यापार जिल्लामा निकै बढेको हो ।

व्यापार बढेसँगै ढल्केवरमा तरबुजा पसलको सङ्ख्या पनि बढेको छ । यहाँका स्थानीय व्यापारीहरुले दुई दर्जनभन्दा बढी स्थानमा अस्थायी टहरा निर्माण गरी तरबुजाको पसल सञ्चालन गरेका छन् । तरबुजा पसलहरुमा लोकमार्गमा गुड्ने अधिकांश बस तथा नीजि गाडीका यात्रु र स्थानीय ग्राहकहरुको भिड लाग्ने गरेको छ ।

ढल्केवरमा अहिले तरबुजा बिक्री केन्द्र राखेर व्यापारीहरुले दैनिक लाखौंको कारोबार गर्ने गरेको छ । मिथिला नगरपालिकाको मुख्य बजारकेन्द्रको रूपमा रहेको ढल्केवरमा बिक्री हुने तरबुजा भने भारतको उडिसा, कलकत्ता, सिलिगुडीलगायतका ठाउँहरुबाट भित्रिने गरेको छ ।

तरबुजा प्रतिकिलो ३० देखि ३५ रुपियाँ तथा प्रतिगोटाका हिसाबले बिक्री हुने गरेको छ । तरबुजा काटेको चना भने २० देखि ३० रुपियाँमा बिक्ने गरेको ढल्केवरका तरबुजा व्यापारी बैधनाथ चौधरीले बताए । यहाँ दैनिक १० लाख रुपियाँभन्दा बढीको कारोबार हुने गरेको उनले जानकारी दिए।

होसलेल बिक्रेतासमेत रहनुभएका व्यापारी चौधरीले भारतको उडिसालगायतका राज्यबाट तरबुजा ल्याउने गरेको जानकारी दिए। भारतबाट ल्याउँदा तरबुजा खरिदबाहेक ढुवानीमा मात्रै चारदेखि पाँच लाख रुपियाँ खर्च लाग्ने हुँदा स्थानीय उत्पादनको तुलनामा केही महङ्गो भएको उनले बताए ।

एक दशकदेखि सिजनमा तरबुजाको व्यापार गर्दै आएका अर्का व्यापारी पञ्चु साहका अनुसार अहिले जनकपुर, विरगञ्ज, काठमाडौं र पोखरालगायत सहरका व्यापारी तथा खुद्रा ग्राहकले यहीँबाट खरिद गरेर लैजान गरेको बताए ।

Share.

Comments are closed.