दोस्रो बजारमा भारी गिरावट आइरहँदा आईपीओ भने खुलिरहेका छन् । मंगलबार मात्रै दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन म्याद सकिएको छ भने बुधबारबाट थप दुई कम्पनीको आईपीओ खुलेको छ ।

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ६७ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ६२ हजार ६१५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सो आइपीओमा छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ । हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

यसैबीच मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३७ कित्ता साधारण सेयर निष्काशन गरेको हो । सो सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार ३० गते हुनेछ । आईपीओमा मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौँ, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Share.

Comments are closed.