देशका विभिन्न स्थानमा भइरहेका मेला, महोत्सव तथा कन्सर्टमा अधिकांश चर्चित कलाकारहरु व्यस्त बनेका छन् । कोरोनाले रोकिएका स्टेज कार्यक्रमहरुले फेरि लय समात्न थालेका छन् ।

मुलुकको चर्चित लोक–रक ब्याण्ड नेपथ्य पनि स्टेज कार्यक्रमका लागि जुर्मराउँदैछ । कोरोना महामारीका कारण झण्डै दुई वर्षसम्म स्टेजबाट टाढा रहेको यो ब्याण्ड नयाँ वर्ष अर्थात् वैशाख १ गते झापाको दमकबाट पुनः स्टेजमा फर्किंदैछ ।

दमकको सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्यले आफ्नो प्रस्तुति दिने तयारी गरेको ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले जानकारी दिए । नेपथ्यले यसअघि पनि सोही स्कुलमा चार हजार भन्दा बढीको दर्शकको उपस्थितिमा कार्यक्रम गरेको थियो ।

कोरोना भाइरस संक्रमण फैलिनुअघि २०७६ फागुन १७ गते काठमाडौंको भृकुटीमण्डपमा पछिल्लो कन्सर्ट गरेको थियो ।

Share.

Comments are closed.