सरकारले आगामी दुई वर्षभित्र अर्थतन्त्रमा सूचना प्रविधिको योगदान दोब्बर बनाउने लक्ष्य राखेको छ । त्यसका लागि आवश्यक पूर्वाधार, नीतिगत र संरचनागत सुधारका काम पनि क्रमशः अगाडि बढाइएको सरकारले जनाएको छ ।

राजधानीमा शनिबार आयोजित ‘डिजिटल कन्क्लेभ’का अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको बढ्दो प्रयोगलाई अर्थतन्त्रसँग जोड्ने गरी लक्ष्यहरू निर्धारण गरिएको जानकारी दिए । “सूचना प्रविधिको समयानुकूल विकास गरी दुई वर्षभित्र कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य छ,” उनले भने ।

सरकारले ल्याएको डिजिटल नेपाल फ्रेमवर्कको सफल कार्यान्वयनमार्फत अर्थतन्त्रमा सूचना प्रविधिको योगदान बढाइने उनले बताए । फ्रेमवर्क कार्यान्वयनका लागि आर्थिक, रणनीतिक र नीतिगत व्यवस्थासमेत भइसकेको उनले जानकारी दिए । सूचना प्रविधिको उच्चमतम प्रयोगमार्फत गुणस्तरीय जीवनस्तरको विकास गर्ने गरी सरकारी कार्य लक्षित गरिएको पनि उनले बताए ।

नेपालमा सूचना प्रविधिको प्रयोगलाई मूल प्रवाहमा ल्याउन तीनै तहका सरकारका कामलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने काम पनि भइरहेको उनले जानकारी दिए । “आगामी आवको बजेटमार्फत सरकारी कार्यालयका कार्यलाई डिजिटल प्रणालीमा लैजाने घोषणा भएको छ,” उनले भने ।

एक वर्षभित्र केन्द्रीय निकायका कामलाई डिजिटल कार्यमा लैजाने, प्रदेशले पनि बजेटमार्फत डिजिटल प्रदेशका अवधारणा ल्याएको र स्थानीय तहलाई पनि काममा पनि क्रमशः सूचना प्रविधिको प्रयोगलाई जोड दिने गरी काम अघि बढाइएको उनले बताए । तीनै तहका सरकारी निकायका कामलाई सूचना प्रविधिमा आबद्ध गराई सार्वजनिक सेवालाई सहज र सर्वसुलभ बनाउने नै सरकारको जोड रहेको उनले स्पष्ट पारे । यसका लागि सरकारी कार्यालयको वेबसाइट निर्माण, सरकारी एकीकृत व्यवस्थापन प्रणाली जस्ता कानुनी आधार तयार भइसकेको उनले बताए।

सूचना प्रविधिको प्रयोग बढे पनि ‘डिजिटल डिभाइड’को अवस्था भने कायमै रहेको मन्त्री कार्कीको भनाइ छ । यसका लागि देशभर सूचना प्रविधिको पूर्वाधार निर्माण गर्ने, डिजिटल साक्षरता अभियान बढाउने, माध्यमिक स्तरका विद्यालयमा ५० प्रतिशत न्यूनतम शुल्कमा ब्रोडब्यान्डको पहुँच पु-याउनेलगायतका काम भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा मन्त्री कार्कीले डिजिटल नेपाल पे्रmमवर्क कार्यान्वयनका लागि निजी क्षेत्रसँग सहकार्यका लागि आह्वान गरे । पे्रmमवर्कले तय गरेका धेरै लक्ष्यमा निजी क्षेत्रको लगानी आवश्यक पर्नेसमेत उनले बताए ।

त्यस्तै उनले फ्रेमवर्क कार्यान्वयनको अवस्था समीक्षा गर्नुपर्ने समय आएकोले यसका सबल पक्ष कार्यान्वयनमा लैजाने र समस्या भएमा छलफल गरेर समाधान गर्न मन्त्रालय तयार रहेको उनले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति नन्द किशोर पुनले सूचना प्रविधिको विकासका लागि नेपालले अब आफ्नै आविष्कारमा जोड दिनुपर्ने समय आएको बताए । सूचना प्रविधिका अधिकांश सेवा आयात गर्नुपर्ने अवस्थालाई कम गर्दै नेपालले पनि यसमा आफ्नो नवीनता प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो । त्यस्तै सूचना प्रविधिको प्रयोगलाई अर्थतन्त्रको प्रवद्र्धनमा लगाउने गरी काम अघि बढाउन उनले आग्रह गरे ।

Share.

Comments are closed.