प्रहरीले नक्कली नेपाली नोटसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–७ बस्ने ३५ वर्षीया सुमित्रा राना, सोही उपमहानगरपालिका–८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र सोही उपमहानगरपालिका–२ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका–१४ घर भएकी २७ वर्षीया रितु चौधरी छन् ।

सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली नेपाली नोट फेला पारी पक्राउ गरेको थियो ।

थप सोधपुछ गर्दा उक्त कारोबारमा चन्द्राको पनि संलग्नता रहेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा रितु चौधरीको कोठाबाट १ हजार दरका थप ८ थान नक्कली नोट फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share.

Comments are closed.