स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा बालेन्द्र साह र हर्कराजजस्ता स्वतन्त्र उम्मेदवारको चर्चा चुलिएको छ । उनीहरू स्थापित पार्टीहरुलाई पछाडि पार्दै अग्रता कायम राखिरहेका छन् । स्ट्रक्चरल इन्जिनियरसमेत रहेका बालेन्द्र नेपाली र्‍याप संगीतमा स्थापित नाम हो भने हर्कराज खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढेको एक युवा हुन्।

२०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मेका साम्पाङ त्यहीको शुक्रबारे माविबाट एसएलसी गरेर ०५६ सालतिर उच्चशिक्षा अध्ययन गर्न धरान झरेका थिए । उनले महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् । अध्ययनकै क्रममा उनले धरानमा एउटा ल्यांग्वेज सेन्टरमा अंग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । त्यसमा पनि चित्त नबुझेपछि उनी अफगानिस्तान पुगे। त्यसपछि इराक पनि गए ।

अफगानिस्तान र इराकमा ६ वर्ष काम गरेपछि उनी नेपाल फर्किए । त्यसपछि धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गमा परेका स्थानीय बासिन्दाको घर जग्गा जोगाउने अभियान चलाए । उनले सडक विस्तारका नाममा नगरवासीलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाए । यो अभियानले उनको नाम परिचित भयो ।

यसबीच सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भयो । भूमिगत खानेपानीका लागि काम सुरु भएर पानी वितरण त भयो तर समस्या भने ज्युँका त्युँ रहेपछि उनले आयोजनाप्रति नै प्रश्न गर्न थाले । मुखर रूपमा उनी एक्लै अगाडि बढे । विस्तारै अरुले पनि साथ दिए ।

“धरानको खानेपानी आयोजना, बीपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध म कराउन थालेँ एक्लै सडकमा । अरुले साथ दिए । अभियानलाई अगाडि बढाउँदै गर्दा नगरवासीले दैनिक रूपमा जोडिएका समस्याबारे मैले कुरा उठाएँ । तर राजनीतिक दल र स्थानीय सरकारले भाउ दिएनन् । म झन् जोडले कराउन थालेँ,” उनले भने ।

जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि अरु नै काम व्यस्त भएपछि असन्तुष्टि चुलिएको उनको बुझाई छ । त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाइरहेको उनी बताउँछन् । “यो चुनावमा न मेरो कुनै संगठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर मैले जनताको मनको कुरा सार्वजनिक रूपमा उठाएको छु । राजनीतिको घिनलाग्दो खेल देखेका भोगेका बूढापाकादेखि विभिन्न दलका युवा कार्यकर्ताले भोट दिएका छन्,” उनी शानसँग भन्छन् ।

२०७४ को स्थानीय तहको चुनावमा उनी केवल मतदाता मात्र थिए । तर ०७६ को उपचुनावमा उनी एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बने । त्यसबेला उनले ४२२ मत ल्याए । दलीय रूपमा उनले प्राप्त गरेको मत निकै थोरै भए पनि उनलाई कुनै चिन्ता भने भएन । सामाजिक, राजनीतिक र स्थानीय तह र सार्वजनिक संस्थामा हुने गरेका विकृति र विसंगतिविरुद्ध उनले निरन्तर प्रश्न उठाए । अनि फेरि धरानको मेयरमा उम्मेदवारी दिए ।

ताजा अवस्थामा धरान उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयको नजिक पुगेका छन् । २० वडा रहेको धरानमा १७ वडाको मतगणना सकिएको छ ।

मतगणनामा मेयर र उपमेयरमा क्रमश: स्वतन्त्र उम्मेदवार साम्पाङ र गठबन्धनका उम्मेदवार ऐन्द्रविक्रम बेघाले अग्रता लिएका छन् ।

मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङले १५ हजार ७७ मत ल्याएका छन् । उनीपछि कांग्रेसका किशोर राईले १२ हजार ४१० मत ल्याएका छन् । एमालेकी मञ्जु भण्डारीले १० हजार १ सय १२ मत प्राप्त गरेकी छिन् ।

एमालेको कब्जामा रहेको निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेका उम्मेदवारभन्दा बढी मत प्राप्त गर्न थालेपछि साम्पाङको जित लगभग निश्चित भएको छ ।

लामो समयका लागि राजनीतिमा नलागेको साम्पाङ बताउँछन् । कुर्सी र पदका लागि मरिहत्ते गर्ने नेताको बानी भएकाले पनि नयाँ पुस्तालाई राजनीतिका तान्ने आफ्नो उद्देश्य भएको उनले बताए ।साम्पाङको दबदबाले धरानमा पनि पुराना राजनैतिक दलहरुले लौरोको चोटिलो प्रहार पाएको देखिन्छ।

Share.

Comments are closed.