अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा धितोपत्र बजारको महत्त्वपूर्ण स्थान रहेको बताएका छन् । ग्लोब मनी विक–२०२२ अन्तर्गत नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइतबार आयोजना गरेको वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरीपछिको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय धितोपत्र बजारको आकार र यसमा सर्वसाधारणको उल्लेख्य सहभागिता बढ्दै गएका कारण धितोपत्र बजारको अर्थतन्त्रमा महत्वपूर्ण स्थान रहेको बताए ।

“धितोपत्र बजारका बारेमा सर्वसाधारणलाई बुझाउन आवश्यक छ”, उनले भने “त्यसैले वित्त परिचालन गर्ने संस्थाहरुले यस्ता कार्यक्रमहरु तल्लो जनसमुदायसमेत लाभान्वित हुनेगरी दूरदराजसम्म पुर्याउनुपर्ने आवश्यकता छ ।”

यस्ता कार्यक्रमहरुले लगानीको सुरक्षा तथा वित्तीय क्षेत्रको जानकारी हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने शर्माले उनले बताए । “धितोपत्र बजारमा विविध खालका समस्या छन्”, उनले भने, “ती समस्याहरु समाधान गर्दै बजारको गुणात्मक विकास तथा विस्तारका लागि नयाँ नेतृत्व पठाएको छु र उहाँहरुलाई निर्देशनसमेत दिएको छु ।”

धितोपत्र बजारमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालयले पर्याप्त मात्रामा सहजीकरण गर्ने प्रतिबद्धतासमेत शर्माले व्यक्त गरे । हालको नयाँ नेतृत्वले नयाँ प्रतिबद्धतासहित नयाँ संरचना तथा योजनासहित बजारको विकास तथा विस्तारका लागि कार्य गर्नुपर्ने र नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रियस्तरको प्रविधिमैत्री एवं आधुनिक बनाउनुका साथै बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा विकास गर्न सम्बद्ध सबै पक्षलाई उनले निर्देशनसमेत दिए ।

वित्तीय अज्ञानताका कारण विविध खालका समस्या उत्पन्न हुने र आरोप प्रत्यारोपहरु लाग्ने हुँदा सर्वसाधारणलाई बुद्धिमतापूर्वक निर्णय लिन सक्षम बनाउन साक्षरतासम्बन्धी कार्यक्रमहरु व्यापक रुपमा सञ्चालन गर्नसमेत निर्देशन अर्थमन्त्री शर्माले बताए ।

कार्यक्रममा सेबोनका अध्यक्ष रमेशकुमार हमालले वित्तीय साक्षरता अभिवृद्धि गर्ने यस कार्यक्रममा उल्लेख्य सहभागिता देखाउने सबै पक्षलाई धन्यवाद दिए । “यसले बोर्डलाई लगानीकर्ताको हकहित संरक्षण, बजारको विकास तथा विस्तारको लागि थप हौसला मिलेको छ”, उनले भने, “यस कार्यमा बोर्ड प्रतिबद्धसमेत रहेको छ ।”

भद्रकालीबाट सुरु भई भृकुटीमण्डपमा समापन भएको प्रभातफेरीमा धितोपत्र बजार सम्बद्ध पक्ष, बीमा तथा सहकारीसम्बद्ध पक्ष र बैंक वित्तीय संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता थियो ।

Share.

Comments are closed.