आखिरीमा नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको मुद्दा फिर्ता भएको छ । सो रिट निवेदकले फिर्ता लिएसँगै दुई बैंकबीचको मर्जर प्रकृया अघि बढ्ने बाटो खुलेको छ ।

नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो ।

एकल इजलासले तत्काल मर्जर अगाडि नबढाउन आदेश दिएपछि दुबै पक्षको कुरा सुन्न उक्त मुद्धा संयुक्त इजलासमा पुगेको थियो । मंगलबारको लागि सुनुवाइ तोकिएको उक्त मुद्दा मंगलबार पनि सुनुवाइ हुन सकेन भने बुधबार पनि सो मुद्दा हेर्न नमिल्नेमा परेको थियो । बिहीबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र सुस्मलता मानन्धरको इजलासमा सुनुवाइ तोकिएको थियो । तर सुनुवाई सुरु नहुँदै मुद्दा फिर्ता लिएको छ ।

मुद्दा फिर्ता भएसँगै अब दुई बैंकबीचको मर्जर प्रकृया अघि बढ्ने भएको छ। दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ भने ती बैंकले जेठ ७ गते एक्विजेशनको लागि विशेष साधारणसभा बोलाएका छन् ।

Share.

Comments are closed.