नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.३.३५ अर्ब खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा ८.९१% ले कमी रहेको छ। खुद नाफा घटेको तथा सेयर संख्या बढेकोले कम्पनीको प्रति सेयर आम्दानी सँगै पनि रु.३६.६३ बाट घटेर रु.२४.१६ कायम हुन आएको छ।

व्याज आम्दानीमा उलेख्य ३७.९७% को वृद्धि, खुद व्याज आम्दानीमा ९०.९१% को वृद्धि, तथा कुल संचालन आयमा ९.४६% को वृद्धि आए पनि निष्कृय कर्जा बढेकाले कर्जा तथा अन्य नोक्सानी व्यवस्था बढेकोले संचालन नाफा ८.७५% ले घट्न गई खुद नाफामा गिरावट आएको हो।

रु.१८.४९ अर्ब चुक्ता पूंजी रहेको बैंकको जगेडा तथा कोष ४.७२% ले घटेर रु.१६.६९ अर्बमा झरेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ९०.२८% रहेको छ। यस्तै, बैंकको कुल शेयरधनीकोष भने वृद्धि भएर रु.३५.१९ अर्ब कायम भएको छ। सेयरधनीकोष बढे पनि सेयर संख्या बढेकोले कम्पनीको प्रति सेयर किताबी मुल्य रु.२३०.०२ बाट घटेर रु.१९०.२९ कायम हुन आएको छ।

त्यस्तै, बैंकको व्यवसायमा राम्रो वृद्धि देखिएको छ। बैंकले तेश्रो त्रैमास सम्ममा ग्राहकहरु बाट रु.२३४.२२ अर्ब निक्षेप संकलन गरी रु.२२९.९४ अर्ब कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश १२.४३% र १८.२३% ले बढेको छ। निक्षेप परिचालनको तुलनामा कर्जा प्रवाहको वृद्धिदर धेरै हुनुको परीणाम कर्जा निक्षेप अनुपात (CD ratio) मा देखिएको छ। २०७९ असार मसान्त भित्र कायम गर्नु पर्ने अधिकतम सीडी रेसियो ९०% रहेकोमा नबिल बैंकको हाल ९१.४७% रहेको छ।

Share.

Comments are closed.