नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले लिएको सङ्कल्प पूरा गर्ने ‘मिसन’को नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको बताएका छन् । आज भक्तपुरमा आयोजित शहीद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानको दशौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री देउवाको सबल र दृढ नेतृत्वले कांग्रेसले सफलता हाँसिल गरेको बताएका हुन् ।

“नेपाली कांग्रेसको उद्देश्य प्राप्तिका लागि, कांग्रेसको सङ्कल्प पूरा गर्न, कांग्रेसलाई ठूलो पार्टी बनाउन र गठबन्धनसहित दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने अहिलेको मिसनको नेतृत्व पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले गर्नुभएको छ”, पूर्वगृहमन्त्रीसमेत रहेका खड्काले भने । कुनै पनि एउटा पार्टीले मात्रै अब दुई तिहाइ ल्याउन सक्ने अवस्था नरहेको उनले दावी गरे । 

“कांग्रेस एक्लैले पनि दुई तिहाइ ल्याएर संविधान संशोधन गर्न सक्ने अवस्था छैन”, उनले भने, “अबको निर्जाचनमा दुई तिहाइका लागि पनि गठबन्धन आवश्यक छ ।” 

विपी कोइरालाले कम्युनिष्टसँग मिलेर कहिल्यै जान हुन्न भने पनि कम्युनिष्टसँग मिलेर गणेशमान सिहंको नेतृत्वमा भएको लोकतान्त्रिक आन्दोलन सफल भएको स्मरण गर्दै खड्काले अहिले पनि समय र परिस्थितिको आवश्यकतालाई हेरेर कम्युनिष्टसँग गठबन्धन गर्नुपरेको बताए । उनले भने, “लोकतन्त्र बचाउन, संविधान संशोधन गर्न, बम, बन्दुक पड्काउने राजनीतिक रोक्दै शान्ति स्थापना कायम गर्न र समग्र देशको हितका लागि अहिले गठबन्धन भएको हो, यो गठबन्धनले मङ्सिरमा हुने सङ्घ र प्रदेशको निर्वाचनमा दुई तिहाइ ल्याउँछ ।” 

उपसभापति खड्काले जनताको विश्वासको कडीलाई कांग्रेसले टुट्न नदिने बताउँदै जनताको पक्षमा काम गर्दै जाने दृढता व्यक्त गरे । कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा मन जितेर काम गर्न निर्देशन दिँदै उनले भने, “कांग्रेस जनताको पार्टी हो भन्ने अनुभूति दिने गरी काम गर्नुस्, सम्पत्ति थप्ने कोसिस नगर्नुस् ।”

Share.

Comments are closed.