नेपाल इन्स्योरेन्सको ७३औं वार्षिक साधारण सभा आज जेठ ३० गते हुन गईरहेको छ । कम्पनीले सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार रहेको छ । उक्त पूँजीको आधारमा १३ करोड ६६ लाख ५७ हजार बराबरको बोनस सेयर र ७१ लाख ९२ हजार बराबरको नगद लाभांश कम्पनीले वितरण गर्न लागेको हो ।

साथै सभाले संस्थापक सेयरधनीहरुबाट दुई जना र सर्वसाधारण सेयरधनीहरुबाट दुई जना गरी चार जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गरेको हो । बुक क्लोजको आधारमा जेठ १६ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

Share.

Comments are closed.