नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले १००ः२० अनुपातमा बोनस सेयर र प्रतिसेयर २० रुपियाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।कम्पनीको बिहीबार राजधानीमा बसेको चौधौँ वार्षिक साधारण सभाले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब रुपियाँ पु-याउने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले आव २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीउपर छलफल गरी पारित गरेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले आव २०७७/७८ मा कम्पनीले कर तथा गैरकरबापत आफ्नो कुल आयको ५० प्रतिशतभन्दा बढी रकम अर्थात् २७ अर्ब ७३ करोड रुपियाँ राजस्व दाखिला गरेको जानकारी दिए ।

सोही अवधिमा संस्थागततर्फ सबैभन्दा बढी आयकर दिने कम्पनीका रूपमा नेपाल टेलिकम सरकारबाट सम्मानित भएको पनि उनले बताए ।इन्टरनेटको बहुउपयोगमार्फत सूचना प्रवाहलाई सजिलो र प्रभावकारी बनाउनुका साथै इन्टरनेट सेवाको विस्तारमा नेपाल टेलिकमको ध्यान केन्द्रित भएको जानकारी दिँदै उनले स्याटेलाइट प्रविधिको समेत प्रयोग गरी विकट हिमाली जिल्लामा वायरलेस तथा वायरलाइन सेवा उपलब्ध गराइएको बताए ।

सचिव अर्यालले मुलुकभर अप्टिकल फाइबर विस्तार गर्नुका साथै बीटीएस तथा ट्रान्समिसन उपकरण जडान गरी स्थानीय टेलिफोन सेवा, फोरजी एलटीई सेवा र एफटीटीएच सेवा विस्तार तथा वितरणमा तीव्रता दिइएको बताए ।

Share.

Comments are closed.