नेपाल भूकम्पको उच्च जोखिममा रहेको र जुनसुकै बेला ठूलो भूकम्प जान सक्ने विज्ञहरुले चेतावनी दिएका छन्।

अमेरिकी दूतवासको सहयोगमा नेपाल एसोसिएसन अफ हम्फेरी फेलोज (नाफ)द्वारा काठमाण्डौमा आयोजित एक कार्यक्रमका सहभागी भूगर्भलगायतका क्षेत्रका विज्ञहरुले यस्तो चेतावनी दिएका हुन्। उनीहरुले नेपालमा २०७२ सालको भन्दा ठूलो भूकम्प कुनै पनि बेला जान सक्ने चेतावनी दिएका छन्।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र विभागका प्रमुख प्राडा विशालनाथ उप्रेतीले नेपालमा २०७२ मा आफूहरुले कल्पना गरेकोभन्दा बाहिरको भूकम्प गएको बताए। ‘अब खासगरी पोखराबाट पश्चिम दिशातर्फ ८.५ रेक्टरभन्दा ठूलो भूकम्प कुनै पनि बेला जान सक्छ’, उनले भने। उनले त्यसका लागि तयारी अवस्थामा बस्न सरकार र सर्वसाधारणलाई चेतावनी पनि दिए।

कार्यक्रममा आफ्नो अध्ययनपत्र प्रस्तुत गर्दै उप्रेतीले नेपालमा कुनै पनि बेला ठूलो भूकम्प जान सक्ने र त्यसले ठूलो जनधनको क्षति हुने बताए। ‘त्यसले अहिलेको नेपालको जनसंख्याको एक तिहाइ मानिस चपेटामा पर्न सक्छन्’, उनले भने।

नेपालमा अहिले अर्ली वार्निङ सिस्टम नभएका कारण ठूलो क्षति हुन सक्ने उप्रेतीको चेतावनी थियो। उनले सरकार भूकम्पबारे जानकारी दिने अर्ली वार्निङ सिस्टम जडान गर्न उदासीन भएको आरोप पनि लगाए। ‘बरु गाडी किन्न उद्धत छन् तर प्रविधि भित्र्याउन खासै चासो दिँदैनन्’, उनले भने।

जल तथा मौसम विभागकी उपमहाप्रबन्धक अरचना श्रेष्ठले विभागलाई राडरलागायतको प्रविधिको अभाव रहेको बताइन्। उनले विज्ञानलाई कसरी सूचनामा परिणत गर्ने भन्ने अझै अन्यौल रहेको सुनाइन्। ‘अहिले सूचनाका लागि एनटीसी र एनसेलमार्फत सूचना दिने गरेका छौँ’, उनले भनिन्।

गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले भूकम्पको पूर्वतयारी प्रतिकार्यलाई फोकस गर्नुपर्ने बताए। ‘त्यसका लागि स्थानीय तहलाई बढी जिम्मेवार बनाइनुपर्छ’, उनले भने।

कार्यक्रममा विपद् पूर्वतयारी सञ्जाल (डीपीनेट) का उपाध्यक्ष डा. राजु थापाले भूकम्पनीको जोखिमको हिसाबले नेपाल संसारको २० औँ स्थानमा रहेको बताए। ‘सुई बिग्रेको टाइम बमको जस्तै अवस्था छ’, उनले भने, ‘नेपालमा कुनै पनि बेला ठूलो भूकम्प जान सक्छ।’

Share.

Leave A Reply