विश्व बैङ्कले दूध र मासुमा उत्पादनमा करिब सात अर्ब रुपियाँ (पाँच करोड ५० लाख अमेरिकी डलर) लगानी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत सहुलियत ऋण सहयोगमा सो लगानी गरेको हो ।

दूध र मासुको उत्पादन वृद्धि गर्न विश्व बैङ्कको ऋण सहयोगबाट कृषि मन्त्रालयले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना नै सञ्चालन गरेको छ । सो आयोजना विगत चार वर्षदेखि सञ्चालनमा रहेको छ ।

आगामी वर्षभित्र सकिने यस आयोजनाको चालू आर्थिक वर्षमा तेस्रो चौमासिकसम्मको भौतिक प्रगति ६७.९६ प्रतिशत रहेको निर्देशक दाहालले बताए । आव २०७४/७५ देखि सुरु भएको सो आयोजना २०८०/८१ मा सम्पन्न हुँदै छ । चार वर्षमा सम्पूर्ण रकमको ३५ प्रतिशत रकम मात्र खर्च भएको आयोजनाका निर्देशक डा. उमेश दाहालले जानकारी दिए । अबको बाँकी एक वर्षमा सम्पूर्ण रकमको ८५ प्रतिशतसम्म खर्च हुने उनले बताए ।

यो आयोजनाले पाँच प्रदेशका २८ जिल्लाको २८९ स्थानीय तहमा दूध, खसीबोकाको मासु, पस्मिनालगायतको उत्पादनमा लगानी गरेको छ । “जहाँजहाँ यो आयोजना सञ्चालन भइरहेको छ, त्यहाँ दूध उत्पादन ४० प्रतिशत र मासु उत्पादन २० प्रतिशतले वृद्धि भएको छ,” आयोजनाका निर्देशक दाहालले भने तर आयोजनाले देशैभरिको दूध र मासु उत्पादनमा कस्तो प्रभाव पारेको छ भन्ने अध्ययन भइनसकेको तर यसले देशभरकै उत्पादनमा सकारात्मक प्रभाव पारेको हुनेपर्ने उनले दाबी गरे ।

यस आयोजनाबाट सञ्चालित उपआयोजनामा नेपाली बैङ्क तथा वित्तीय संस्था, व्यक्तिगत समूह वा सहकारीले पनि लगानी गरेका छन् । आयोजनाले कुल लगानीको ५० प्रतिशत अनुदान कृषकलाई दिने गरेको छ । यस आयोजनाअन्तर्गत अनुदान दिन दुई करोड ५० लाख डलर छुट्याइएको छ । विश्व बैङ्क, सरकार तथा अन्य स्रोतबाट गरी यो आयोजनाको कुल लगानी आठ करोड ७० लाख डलर हुने उनले बताए । मेगा प्रोजेक्टका रूपमा अगाडि बढाइएको यस आयोजनामा नेपाल सरकारको लगानी करिब सात करोड अमेरिकी डलर रहेको छ ।

दूध र मासु उत्पादनमा वृद्धिका लागि नीतिगत सुधारको आवश्यकता रहेको भन्दै सो आयोजनाबाट पशुको क्षेत्रमा नीतिगत काम पनि भएको छ । आयोजनाले राष्ट्रिय पशु स्वास्थ्य नीति, राष्ट्रिय प्रजनन नीति बनाउन पनि लगानी गरेको छ । यो नीति मन्त्रिपरिषद्बाट पास भएर कार्यान्वयनमा आइसकेको छ । त्यस्तै आयोजनाले सङ्क्रमण पशु रोग नियन्त्रण ऐन, पशु कल्याण ऐन ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषद्बाट त्यसको सैद्धान्तिक सहमति पनि आयोजनाले प्राप्त गरिसकेको छ ।

त्यसैगरी पशु पोषण रणनीति र पशु पहिचान रणनीति बनाउने तयारी भइरहेको छ । पशुसेवा विभागको समन्वयमा आयोजनाले खोरेत रोगका लागि चाहिने खोपको व्यवस्थापन गर्ने कार्य पनि गरिरहेको छ । प्रत्येक प्रदेशमा एउटाका दरले हालसम्म ५० लाख डोज भ्याक्सिन भण्डारण गर्न सक्ने क्षमताका प्रत्येक प्रदेशमा सातवटा प्रिफ्याब कोल्ड रुम तयार गरेको छ । यी कोल्ड रुम मुख्यतः प्रदेशस्तरमा भ्याक्सिन बैङ्कका रूपमा रहने निर्देशक दाहालले बताए ।

आयोजनाले विभिन्न पाँच ठाउँमा पशु हाटबजार स्थापना गर्ने भएको छ । पाँच ठाउँमध्ये बर्दिया, रुपन्देही, चितवन, झापामा स्थापना भइसकेका छन् भने मोरङमा निर्माण कार्य जारी रहेको उनले जानकारी दिए । साथै पशुका लागि भिडियो एक्स–रे मेसिन पनि वितरण गरिएको छ । पशु नश्ल सुधारका लागि अमेरिकाबाट सातवटा गाई ल्याइसकिएको छ । वंशावली नश्ल सुधार कार्यक्रमअन्तर्गत ती सातवटा साढे ल्याइएको हो । यी साढेबाट नश्ल सुधार भएपछि दूध उत्पादनमा वृद्धि हुने विश्वास आयोजनाले लिएको उनले जानकारी दिए । आयोजनाले घाँस उत्पदानमा पनि लगानी गरेको छ ।

डेरी उद्योगीलाई ५० प्रतिशत अनुदान दिएर चितवनमा दूध तथा दुग्धजन्य पदार्थ राख्नका लागि कोल्डस्टोर पनि स्थापना गरिएको छ । दूध सङ्कलनका लागि चिलिङ सेन्टर पनि ठाउँठाउँमा स्थापना गरिएको छ । आयोजनाले जति पनि गतिविधि गरिरहेका छन्, ती सबै दूध तथा मासु उत्पादनमा वृद्धिका लागि गरिएको बताउँदै उनले यसमा विश्व बैङ्कको ठूलो सहयोग रहेको बताए ।

कृषिका अन्य क्षेत्रमा पनि विश्व बैङ्कको लगानी छ तर दूध र मासुमा लगानी भएको यो नै पहिलो आयोजना रहेको उनले बताए। नेपाल दूध र मासुमा लगभग आत्मनिर्भर नै रहेको बताउँदै उनले यो आयोजना सकिएपछि देशभरको दूध र मासु उत्पादनमा यसले कस्तो प्रभाव प-यो, त्यसको पनि तथ्याङ्क सङ्कलन गरिने बताए ।

Share.

Comments are closed.