नाबालिका बलात्कारको अभियोगमा तनहु कारागारमा कैदी जीवन बिताइरहेका पल शाहले दिनको ६० रुपैयाँ र सात सय ग्राम चामल पाउँछन्। अहिले उनको जीवन यही खान्कीमा सिमीत भएको छ।
कुनै बेलाका स्टार पल यतिबेला १६८ जना कैदीबन्दीसँगै सामुहिक रूपमा जेलको चिसो छिडीमा बस्न बाध्य छन्। उनले खाना पनि तिनै कैदी बन्दीसँगै मेसमै खाइरहेका छन्।
पललाई तनहुँ जिल्ला कारागारको बी ब्लकमा पुर्पक्षका लागि थुनामा राखिएको छ। यसको अर्थ अझै पनि उनी अपराधी भैसकेका छैनन्। उनीमाथि नाबालिग बलात्कारको संगीन आरोप लागेकाले उनी पुर्पक्षका लागि थुनिनु पर्यो । बाहिर बस्दा उनले अनेक चलखेल गर्न सक्ने सम्भावना देखेर अदालतले उनलाई थुनामा पठायो।
यो मुद्दा कानुनको भाषामा पहिलो दृष्टिमै अभियुक्त दोषी हुने कोटीमा पर्छ। किनकि, पीडित नाबालिग छिन् र उनी आफैं बलात्कृत भएको भनेर बयान दिइरहेकी छिन्।
पल आफैंले पनि जे जस्तो बयान दिए, त्यसले पनि उनलाई निर्दोष बनाउन सकेन। किनकि, तथ्य उनले बनाएको सत्यभन्दा धेरै बलवान थियो। ११७ त प्रमाण नै थिए। ती सबै प्रमाणका आधारमा अदालत पीडितले बयानमा भनेजस्तै विवाह गर्छु भन्ने प्रलोभनमा पारेर सम्बन्ध राखेको भन्नेमा विश्वस्त देखियो। पीडित नाबालिग भएकाले कानुनत: यो बलात्कार मानियो।