पार्किन्सन्स उमेर बढ्दै जाँदा लाग्ने एक प्रकारको रोग हो । त्यसैले यसलाई बुढ्यौलीको रोग पनि भन्ने गरिन्छ । तर यसो भन्दैमा बुढाबुढीलाई मात्र यो रोग लाग्छ भन्ने होइन । सामान्यतया ६० वर्षको उमेरपछि मात्र पार्किन्सस राेगको सम्भावना बढी हुने गरे पनि पछिल्लो समय केही व्यक्तिहरुमा ४०-५० वर्षमै पनि पार्किन्सन्स देखिरहेकाे हुन्छ।

यो रोग लाग्नुको मुख्य कारण डोपामिनको कमी हो। मानिसको ब्रेनमा सबटान्सिया नाएग्रा भन्ने सेल हुन्छ जसले डोपामिन भन्ने तत्व बनाउने काम गर्छ । तर जब यसले डोपामिन तत्त्व बनाउन सक्दैन वा कम बनाउन थाल्छ त्यसपछि व्यक्तिमा हिँडडुलमा समस्या देखिन थाल्छ यसलाई नै पार्किन्सस रोग भनिन्छ ।

पार्किन्सन्सका प्रमुख लक्षणहरु यस प्रकार छन्:

-हात काम्नु
-शरीर धान्न गाह्रो हुनु
-शरीर कडा बन्दै आउनु
-हिंड्दा समस्या हुनु
-शरीरमा सुस्तता बढ्नु
-बोली कम हुनु

माथिका यी लक्षणहरु पार्किन्ससन्स सुरुमा देखिने क्रममा आउने लक्षण हुन भने जति पछि भयो त्यति नै यसको समस्या बढ्दै जान्छ । त्यो अवस्थामा डिप्रेसन हुने, गन्ध थाहा नपाउने, भनेका, गरेका कुरा बिर्सने, शरीर कडा बन्दै गएर धान्न गाह्रो हुने र कसै कसैलाई अरुको सहारा चाहिने, हिव्ल चेयर चाहिने पनि हुनसक्छ ।

उपचारको बारे कुरा गर्दा पार्किन्सन्सको बेलैमा पत्ता लगाएर उपचार गरेमा यसलाई वर्षौसम्म पनि नियन्त्रणमा राखी सक्रिय जीवन जीउन सकिन्छ । तर हामीकहाँ बुढेसकालमा अलिअलि शरीर दुख्छ, अलिअलि सुस्त भइहाल्छ भन्दै बेवास्ता गर्दा रोग पुरानो भएर धेरै दुख दिन थालेपछि मात्र अस्पताल आउने भएकाले उपचारमा जटिलता र लामो समय लाग्ने गर्छ । यो रोगमा शरीरलाई चाहिने एउटा महत्वपूर्ण तत्व उत्पादन नै हुन नसक्ने भएकाले यसको औषधि केही दिन महिना खाएर छुटाउने भन्ने हुँदैन । कतिपयलाई औषधिले नै सम्पूर्ण रुपमा काम गर्छ भने कतिपयलाई डिप ब्रेन स्टिमुलेसन डीबीएस भन्ने डिभाइस राखिन्छ । यसले बिरामीलाई सहज बनाउँछ । सबैलाई यो राख्नपर्छ र राख्न मिल्छ भन्ने हुँदैन । बिरामीको कन्डिसन अनुसार मात्र निर्धारण गर्न सकिन्छ । यो प्रविधि नेपालमा पनि उपलब्ध छ । बिरामीमा प्रयोग पनि भइरहेको छ ।

यो रोगमा देखिएका लक्षणलाई कम गर्दै लानका लागि र जीवन सहज होस भन्नका लागि उपचार गर्ने हो । यो रोग पूर्ण रुपमा निको हुने भन्ने हुँदैन। एकिन तथ्यांक त छैन् तर नेपालमा झण्डै २० हजार जति पार्किन्सन्सका रोगी छन् की भन्ने अनुमान गरिएको छ । अस्पतालमा आजभोलि पार्किन्ससन्सका बिरामी आउने क्रम बढ्दो छ । एउटा त स्वास्थ्य संस्थामा पहुँच बढी भएर पनि होला यो रोगको निदान पनि बढी नै हुन थालेको छ । समयमै उपचार गर्दा धेरै क्षति हुनबाट जोगाउन सकिन्छ भने त्यही रोग लागेको बढी समय भएमा भने सुधार ल्याउन बढी समय लाग्ने हुन्छ र बिरामीलाई गाह्रो पनि हुन्छ ।

पार्किन्सन्सका बिरामीलाई घर परिवारको पनि सहयोग चाहिन्छ । कुन बेला औषधि खाने, कुन बेला शारीरिक व्यायाम गर्ने जस्ता कुराहरुको रुटिन बनाइदिनुपर्ने हुन्छ । यो रोगको उपचारमा प्रयोग हुने औषधिमा निकै सावधानी अपनाउनुपर्ने हुन्छ । एकछिन पनि तल माथि भयो भने यो औषधिले कि त साइड इफेक्ट देखाउने कि त कामै नगर्ने हुनसक्छ । त्यसैले डाक्टरले भनेको अनुसार मात्रै औषधिको सेवन गर्नुपर्ने हुन्छ । पार्किन्सन्स रोग बुढेसकालमा मात्र लाग्ने हो भनेर ढुक्क भएर नबसौं । यदि योसँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त एकपटक डाक्टरसँग सल्लाह गर्ने बानी बसालौं ।

Share.

Comments are closed.