सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई  नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले) ले २ र माओवादीले एक स्थानीय तह जितेका थिए । यसपालि एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात पारेको छ । 

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसका नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकालसहित १० वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

यस्तै भित्रिमधेसको परशुराम नगरपालिकामा कांग्रेसका भरत बडायर जोशी तथा उपप्रमुखमा माओवादी केन्द्रका विमला महता निर्वाचित भए । यस नगरपालिकाका वडाहरुमा पनि कांग्रेसको सहज जित भएको छ । 

कांग्रेसले गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका पनि जितेको छ । यहाँका आलिताल र अजयमेरु गाउँपालिकामा नेकपा (माआवादी केन्द्र) आएको छ । उता अजयमेरु गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकी वशन्ती पाल विजयी भएका छन् । 

कांग्रेसले ५२ वडामध्ये २९ वडामा विजय प्राप्त गरेको छ भने माओवादी १४, एमालेले तीन, एकीकृत समाजवादी दुई, विपी कांग्रेस दुई र स्वतन्त्रले दुई वडा जितेका छन् । विसं २०७४ को निर्वाचनमा कांग्रेसले यहाँका १६ वडा मात्र जितेको थियो । अघिल्लो चुनावमा नेकपा (एमाले) ले २० वडा जितेको थियो भने माओवादीले १६ वडा जितेको थियो । अघिल्लो चुनावमा कांग्रेसले चार पालिकामा मात्र विजय भएको थियो । 

अघिल्लो चुनावमा अमरगढी नगरपालिकामा ५ वडा मात्रै जितेको कांग्रेसले अहिले प्रमुख उपप्रमुखसहित १० वडामा विजय हात पारेको छ । अघिल्लो चुनावमा अमरगढीका प्रमुख र उपप्रमुखसहित ६ वडाअध्यक्ष जितेको एमाले अहिले शून्यमा झरेको छ । 

Share.

Comments are closed.