प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्माको राजीनामा माग गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिन आग्रह गर्नुभएको हो ।

यसैगरी आजको मन्त्रिपरिषद्को बैठकमा कांग्रेसका मन्त्रीहरुले पनि अर्थमन्त्री शर्मालाई राजीनामा दिन आग्रह गरेका छन् । अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्छ भनेर चौतर्फी आवाज उठिरहेका बेला आज मन्त्रिपरिषद्‌को बैठकमै समेत राजीनामा दिनुपर्ने कुरा उठेको हो । बैठकमा कांग्रेसका केही मन्त्रीले चौतर्फी रुपमा प्रश्न उठिसकेकाले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।

हिजो सोमबार संसदमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीलाई नहटाएको भन्दै प्रधानमन्त्री देउवाको चर्को आलोचना गरेका थिए ।

प्रमुख प्रतिपक्षी दलका नेताले नै संसदको ध्यानाकर्षण गराएको र सरकारमा चरम दबाब बढेपछि निकासका लागि प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल बाध्य भएका हुन् । संसदीय छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउने वा राजीनामा दिएर विवाद समाधान गर्ने भन्ने विषयमा निकास दिन छलफल गर्न लागिएको हो । प्रचण्डले विवादित अर्थमन्त्री शर्माको सेफ ल्याण्डिङको विवाद समाधानका लागि प्रधानमन्त्री देउवा र सभामुख सापकोटासँग छलफल गर्ने भएका हुन् ।

Share.

Comments are closed.