‘कबड्डी ४, द फाइनल म्याच’को घोषणा हुने बित्तिकै एउटा प्रश्नले जन्म लियो। वीरकाजीको विहे अब चाहिँ होला त?

ट्रेलर रिलिजसँगै वीरकाजीको विहेको चर्चा झनै चुलियो। अहिले चलचित्र हलमा लागिसकेको छ। दर्शकहरू यही विहेको उत्तर खोज्न हलसम्म गइरहेका छन्। फिल्मको व्यापार रेकर्ड ब्रेक गर्नेगरी भइरहेको छ। अनलाइनबाट खासै बिक्री नहुने नेपाली फिल्मको टिकट अहिले रातै छ। निर्माता, निर्देशक र कलाकार मात्रै होइन, नेपाली फिल्मलाई माया गर्नेहरू सबै खुशी छन्।

फिल्म हेर्दा, निर्देशक रामबाबु गुरुङले कबड्डीको चौथो श्रङ्खलासम्ममा दर्शकको स्वाद थाहा पाइसकेको भान हुन्छ। त्यसमाथि मौलिक अभिनय र संवादैपिछे हास्यरस भएको फिल्म नचल्ने कुरै भएन। यसअघिका तीन वटै श्रृङ्खला युट्युवमा आइसकेकाले पनि हलमा फिल्मको क्रेज अन्य सिक्क्वेलभन्दा धेरै छ।

तर, फिल्मको कथा खासै नयाँ छैन। कथै छैन भन्दा पनि हुन्छ। जति कथा थियो, सबै ट्रेलरमै भनिएको छ। त्यसैको लम्ब्याइएको भाग हेर्न दर्शक हलमा जाने मात्र हो। त्यसैले फिल्मको मजा लिन चाहनेले ट्रेलर नहेरेकै राम्रो।

वीरकाजीको विहेको उत्तर खोज्न हल पुगेका दर्शकले फिल्मको पहिलो दृश्यमै विहे भइरहेको देख्छन्। तर, मुखुण्डो लगाएको एउटा केटोले मोटरसाइकलमा राखेर मुस्ताङको थाकखोलको बगरैबगर बेहुली भगाउँछ। प्रेम विवाह नफापेको वीरकाजी उर्फ काजी (दयाहाङ राई)लाई मागी विवाह गर्दा पनि बेहुली अरूले नै उडाइदिन्छ।

निराश भएर काजी विहे नगर्ने, ब्रह्मचार्य पालना गर्ने भन्दै लामा बन्न जान्छ। राजनीतिमा लागेका कारण पाँच कक्षाभन्दा बढी पास नगरेको ऊ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत बन्छ। काममा फर्कनैपर्ने बाध्यता र वंश धान्न भन्दै काजीको बुवा विहे गर्न कस्सिएपछि ऊ फेरि पुरानै जीवनशैलीमा फर्कन्छ।

विद्यालयमा नयाँ शिक्षिका शान्ति(मिरुना मगर) को प्रवेश हुन्छ। साथमा शहरबाट म्याथम्याटिक्समा मास्टर्स डिग्री गरेको बमकाजी (सौगात मल्ल) पनि आइपुग्छ। बमकाजी उही हो जसले कबड्डीको दोस्रो भागमा मैयाँ लिएर भागेको थियो।बमकाजी पनि शान्तिको मायामा लठ्ठिएर त्यही विद्यालयमा शिक्षक बन्न जान्छ। 

अनि कथा यही तीन पात्रको वरिपरि घुम्छ। वीरकाजी, शान्ति र बमकाजीले अधिकांश समय पर्दा ओगटेका छन्। कथाको राम्रो पक्ष के भने, अन्य श्रृङ्खलामा केटीको पछाडि लाग्ने, विहे गर्ने लक्ष्य मात्रै बोकेको वीरकाजी यो श्रृंखलामा फेरिएको छ। यो पटक केटी नै उनको पछि परेकी छन्। केटी नै पछि परेपछि के विहे होला त काजीको? यही प्रश्नको उत्तर छ फिल्ममा।

चौथो श्रृंखलासम्म आइपुग्दा कबड्डीले पृथक स्वाद पस्किन सफल भएको छ। पहिलेको र अहिलेको भागलाई हेर्ने हो भने फिल्मको कथ्य शैली एकै छ। खिचिएको दृष्य एकै, केही कलाकार बाहेर अन्य अनुहार पुरानै। कथावस्तु पनि उस्तै। 

तर, दायरा साँघुरो भए पनि समयसँगै पात्रहरूमा आएको परिवर्तनले फिल्मलाई नवीन बनाएको छ। पात्रहरू मोटरसाइकल हुँदै कार चढ्ने बनेका छन्। बेरोजगारहरू रोजगार बनेका छन्। अशिक्षितहरू शिक्षित बनेका छन्। लोकल भट्टीमा ब्राण्डेड रक्सी पुगेको छ। फोनको नेटवर्क नटिप्ने ठाउँमा इन्टरनेट बैंकिङ पुगेको छ। 

फिल्ममा दयाहाङ, सौगातसहित बुद्धिमान तामाङ, विजय बराल लगायत पुरानै कलाकार भइहाले। बुद्धि र विजयले यस पटक खासै पर्दा ओगटेका छैनन्। उनीहरू पहिलेको तुलनामा थोरै छायामा परेको भान हुन्छ। बिके (विजय बराल)को जिन्दगीको ट्वीस्टले फिल्ममा रौनक थपेको छ। सौगातको संवाद र दयाहाङको भावभंगी फिल्मका मुख्य आकर्षण हुन्।

नयाँ कलाकारको रूपमा फिल्ममा प्रवेश गरेकी मिरुना मगरको अभिनय मौलिक छ। अर्की नयाँ कलाकार जसले भट्टी साहुनीको भूमिका निभाएकी छिन्- पम्फा (गौमाया गुरुङ) उनको पात्र भने त्यति सशक्त छैन। तर  अभिनय भने राम्रो छ। कबड्डीको तारिफयोग्य पक्ष भनेको यसमा कलाकारले गरेको मौलिक अभिनय नै हो। ‘ओभरप्ले’ले गिजोलेको नेपाली सिनेमाको हुलमा कबड्डी एउटा मानक नै हो भन्दा फरक नपर्ला। 

अन्य श्रृङ्खलाको तुलनामा यो पटक हिमालको भ्यू खिच्न छायाँकारले खासै मेहनत गरेका छैनन्। दृश्यहरू क्लिसे हुने भएकाले पनि त्यता ध्यान नदिइएको हुनसक्छ। फिल्ममा संगीतको प्रयोग राम्रो छ। ब्याकग्राउण्ड म्युजिकमा खासै मेहनत नगरे पनि पट्यारलाग्दो छैन। एभरेज नै मान्नुपर्छ। फिल्मको संवाद र स्क्रिन-प्ले सशक्त छ।

फिल्ममा निर्देशकले चलाखी गरेका छन्। अपुरो कथा छोडेर। हलिउडमा मार्भलले गर्ने जस्तो प्रयोग गर्नलाई कबड्डीका पात्रहरूको कथामा छुट्टाछुट्टै फिल्म बनाउने बाटो राखेका छन् रामबाबुले।त्यसैले त कबड्डीको रिलिजसँगै ‘मास्टर बमकाजी’को निर्माण गर्ने घोषणा गरिसकेका छन्। किनभने, फिल्ममा दर्शककले मैयाँलाई लिएर बमकाजी भागेपछि कसरी मास्टर डिग्री गरेर एक्लै गाउँ फर्कियो भन्ने कथा खोज्नेछन्। जुन अहिलेको कबड्डी ४ मा छैन।

त्यस्तै फिल्ममा छन्त्याल (बुद्धिमान तामाङ) को श्रीमतीलाई गर्भवती बनाउने झाँक्री भागेर कहाँ गयो, के गर्‍यो र फेरि कसरी थाकखोला गाउँमा फर्कियो भन्ने कथा पनि फिल्ममा छैन। एक्कासि पहिलो प्रिक्वेलबाट भागेको झाँक्रीलाई एकदमै इमान्दार बनाएर फिल्ममा प्रवेश गराइएको छ। निर्देशकले प्रत्येक पात्रको बारेमा कथाहरू लुकाएका छन्। सधैं कबड्डीकै कथा भनेर जिन्दगी बिताउने आधार बनाएका छन् उनले।

फिल्मका कमजोरी पनि छन्। केही नचाहिने दृष्यहरू छन्। जस्तो, एउटा सिनमा विद्यालयमा कबड्डी खेल भइरहेको देखाइन्छ। तर त्योसँग फिल्मको लिनुदिनु केही छैन। त्यो दृश्य फिल्ममा भए पनि नभए पनि केही फरक पर्दैन थियो। 

सबैभन्दा नमीठो कमजोरी भनेको फिल्मको अन्त्य हो। जुन एकदमै फितलो छ। अर्को सिक्वेल बनाउने चक्करमा कथालाई सेफ ल्याण्डिङ नगरी छाडिदिएका छन् निर्देशकले। पर्दामा कलाकारको नाम आउन सुरु गरेपछि मात्रै फिल्म सकिएको थाहा पाउँछन् दर्शकले।

पुरानै ढर्रामा फिल्ममा महिलालाई हासोको पात्र बनाइएको छ। पहिलो र दोस्रोमा महिलालाई जुन तरिकाले जबर्जस्ती प्रेममा पार्न खोजिएको थियो, अहिले पनि फिल्ममा त्यस्तै कथा भनिएको छ। शेरचनहरूको छोपेर विहे गर्ने (अपहरण गर्ने) परम्परा देखाउँदै केटीलाई कुखुरा जस्तो बनाइएको छ। जसलाई छोपेर घरभित्र हुल्न पाइन्छ।

दर्शकले ख्याल गर्नपर्ने चाहिँ- अगाडिका सिक्क्वेल हेर्नुभएको छैन भने पात्र चिन्न समस्या पर्छ। कथामा चाहिँ खासै समस्या आउँदैन। फिल्मले आँखालाई शितलता, दिमागमा दबाबमुक्त गरेर सिर्फ मनोरञ्जन दिन्छ।

Share.

Comments are closed.